नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने मोदीको घोषणा


नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेका छन् । नेपालका युवालाई शिक्षा, प्रविधि, नवप्रवर्तन तथा सीप विकासका क्षेत्रमा अवसर विस्तार गर्ने उद्देश्यले भारतले यी पहल अघि बढाउने उनले बताएका हुन् ।

नेपालका प्रधानमन्त्री बालेन साहसँग हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि संयुक्त सम्बोधन गर्दै मोदीले नेपाली युवाको प्रतिभा, ऊर्जा र आकांक्षालाई साकार पार्न भारत सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

‘नेपालका युवा प्रतिभा, ऊर्जा र ठूला सपना बोकेका छन्। उनीहरूको सपना साकार पार्न भारत साझेदारी गर्न पूर्ण प्रतिबद्ध छ। यस उद्देश्यका लागि नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्नेछौँ,’ मोदीले भने।
उनले नेपालका विद्यार्थीलाई भारतमा अध्ययनका लागि कानुन र प्रविधि विषयमा छात्रवृत्तिको अवसर थप विस्तार गर्ने पनि घोषणा गरे।

भारत र नेपालले जारी गरेको संयुक्त दृष्टिपत्रमा यी पहललाई दुई देशबीच शिक्षा, प्रविधि र नवप्रवर्तन सहकार्य विस्तारको महत्त्वपूर्ण आधारका रूपमा समेटिएको छ।
त्यस्तै, नेपालमा खाद्य प्रशोधन तथा उत्पादनको मूल्य अभिवृद्धि प्रवद्र्धन गर्न कृषि औद्योगिक पार्क विकासमा सहकार्य गर्ने मोदीले बताए।

दुवै देशका युवा फिल्म निर्माता, प्रविधि प्रयोगकर्ता तथा नयाँ सञ्चारमाध्यमका सिर्जनाकर्तालाई साझा सांस्कृतिक विरासत विश्वसामु प्रस्तुत गर्न सहयोग गर्ने पनि उनले उल्लेख गरे। यसका लागि आगामी वेभ्स (WAVES) सम्मेलनमा ठूलो संख्यामा नेपाली प्रतिनिधिलाई सहभागी गराउने भारतको योजना रहेको छ।

खेलकुद, विशेषगरी क्रिकेट क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने भन्दै मोदीले नेपालमा खेल पूर्वाधार विकास र खेलाडी प्रशिक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि मोदीले नेपालमा बाढीपछिको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँको विकास सहयोग प्याकेज घोषणा गरेका थिए। अगस्टमा नेपालमा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै उनले प्रभावित परिवारको जीवन पुनः सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न तथा भविष्यका विपद् सामना गर्ने नेपालको क्षमता बलियो बनाउन सहयोग गर्ने बताए।