नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग र विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने तथा केही सहमति र सम्झौतामा हस्ताक्षर वा आदानप्रदान हुने कार्यक्रम छ । भेटपछि प्रधानमन्त्री साह र मोदीले संयुक्त रूपमा केही आयोजना उद्घाटन गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री साह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा पनि सहभागी हुनेछन् ।यसअघि प्रधानमन्त्री साह आज बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन् । प्रधानमन्त्री साह दुईदिने राजकीय भ्रमणका कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया