भारत भ्रमणमा दीर्घकालीन मुद्दा ओझेलमा नपार्न प्रधानमन्त्रीलाई राजनीतिज्ञ र विश्लेषकको सुझाव


काठमाडौं । प्रधानमन्त्री बोलन साह भारत भ्रमण विकास कूटनीतिमा केन्द्रित हुने चर्चा भइरहेका बेला नेपाल–भारत सम्बन्धका दीर्घकालीन र संवेदनशील मुद्दाहरूलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै पूर्वराजनीतिज्ञ तथा विश्लेषकहरूले सुझाव दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, विश्लेषक डा. विष्णुराज उप्रेती तथा पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा सामाजिक सञ्जालमार्फत विभिन्न प्रश्न, सुझाव र टिप्पणी गरेका छन् ।

राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल–भारत सीमा विवाद र व्यापार घाटाको विषयलाई प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने बताएका छन् । उनले नेपाल–भारत सीमाको अधिकांश भाग निर्धारण भइसके पनि लिम्पियाधुरा, कालापानी र सुस्तासहितका क्षेत्रमा विवाद दशकौँदेखि कायम रहेको उल्लेख गर्दै यस विषयलाई बेवास्ता गर्नु दुवै देशका लागि उचित नहुने बताएका छन् ।

उनले सीमा विवाद समाधानका लागि संवाद र पहल आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले यस विषयलाई कति समयसम्म पन्छाएर राख्ने भन्ने प्रश्न गरेका छन् ।

त्यस्तै, नेपालले १०० भन्दा बढी देशसँग व्यापार गरिरहेको भए पनि व्यापार घाटा प्रत्येक वर्ष बढ्दै गएको र त्यसको ठूलो हिस्सा भारतसँग रहेको लोहनीले उल्लेख गरेका छन् । नेपालको व्यापार घाटा घटाउने विषयमा भारतले चासो नदेखाउने र नेपालले पनि यसबारे प्रभावकारी पहल गर्न नसक्ने अवस्था रहे मित्रता बलियो बन्न नसक्ने उनको टिप्पणी छ ।

नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी विद्युत् भारत निर्यात गर्ने नीति दुवै देशको हितमा हुन सक्ने उल्लेख गर्दै उनले आर्थिक रूपमा बलियो नेपाल भारतको बलियो मित्र बन्ने यथार्थ भारतलाई बुझाउन प्रधानमन्त्री सफल होऊन् भन्ने शुभकामना दिएका छन् ।

विश्लेषक डा. विष्णुराज उप्रेतीले प्रधानमन्त्रीको भारत भ्रमण विकास कूटनीति केन्द्रित हुने बुझिएको भएपनि दशकौँदेखि थाती रहेका पानी, सीमा, सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन र व्यापार घाटाजस्ता मुद्दा ओझेलमा पर्न नहुने बताएका छन् ।

उनले विकास कूटनीतिसँगै पुराना र महत्त्वपूर्ण द्विपक्षीय मुद्दाहरूलाई पनि भ्रमणको छलफलमा समेट्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई व्यंग्यात्मक शैलीमा टिप्पणी गर्दै नेपालले भोगिरहेका दीर्घकालीन समस्याहरू समाधानका लागि पहल गर्नुपर्ने बताएका छन् ।

उनले बिहानको हिँडाइका क्रममा दुई जना साथीबीच भएको गन्थनमन्थनलाई प्रस्तुत गर्दै प्रधानमन्त्री भारत औषधि लिन जाँदै हुनुहुन्छ कि रुघाखोकीका लागि कागती र मह मिसाएको तातो पानी लिन जाँदै हुनुहुन्छ भन्ने प्रश्न उठाएका छन् ।

ढुंगेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कालापानी, लिपुलेक, महाकाली नदीको स्रोत तथा सुस्ता लगायत दक्षिणी सीमाक्षेत्रका विवाद र सीमा डुबानलाई नेपालका दीर्घकालीन समस्याका रूपमा उल्लेख गरेका छन् ।

उनले यी समस्यालाई दीर्घरोगसँग तुलना गर्दै प्रधानमन्त्रीले ती समस्याको उपचारका लागि ठोस पहल गर्ने अपेक्षा व्यक्त गरेका छन् ।