मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते


काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बुधबार बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो गाडी सडकबाट करिब २०÷२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिनाको मृत्यु भएको छ। त्यस्तै, चन्द्रनिगाहपुरबाट सुमोमा चढेकी नामथर र वतन नखुलेकी एक महिलाको समेत मृत्यु भएको छ।

दुर्घटनामा परी रौतहट चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्।

घाइतेहरूलाई स्थानीय बासिन्दा तथा प्रहरी चौकी भैँसेको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमान्डमा ११ जनाको टोली बिहान ९ः०५ बजे घटनास्थलतर्फ परिचालन भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।