रोयटर्स । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले बुधबार ८१ अर्ब ३१ करोड अमेरिकी डलरको आईपीओ निष्कासन गरेको छ । यससँगै कम्पनीले स्पेसएक्सको कीर्तिमान तोड्दै इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कासन गर्ने कम्पनीको उपाधि हासिल गरेको छ ।
रोयटर्सका अनुसार एन्थ्रोपिकले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले आईपीओ मूल्य निर्धारण गरेको छ । यो कम्पनीले यसअघि प्रस्ताव गरेको मूल्य सीमाभन्दा बढी हो । उक्त निष्कासनपछि कम्पनीको मूल्याङ्कन करिब १.५ ट्रिलियन डलर पुगेको छ ।
यसअघि कम्पनीले प्रतिकित्ता ७० देखि ७८ डलरका दरले ८२ करोड ५० लाख कित्ता सेयर बिक्री गर्ने योजना बनाएको थियो । तर माग बढेपछि निष्कासनको आकार करिब १९ प्रतिशतले बढाएर ९८ करोड कित्ता पुर्याइएको थियो ।
नियामक निकायमा बुझाइएका विवरणअनुसार एन्थ्रोपिकले आईपीओकै मूल्यमा निजी प्लेसमेन्टमार्फत थप २६ अर्ब डलरसमेत जुटाउँदैछ । स्टक अप्सन र प्रतिबन्धित सेयरजस्ता वित्तीय साधनसमेत गणना गर्दा कम्पनीको पूर्ण मूल्याङ्कन करिब १.५ ट्रिलियन डलर पुगेको छ ।
एन्थ्रोपिक प्रमुख एआई मोडल विकास गर्ने कम्पनीहरूमध्ये सार्वजनिक सेयर बजारमा प्रवेश गर्ने पहिलो ठूलो कम्पनी बनेको छ । तीव्र गतिमा विस्तार भइरहेको एआई उद्योगमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला कम्पनीले आईपीओ ल्याएको हो । यद्यपि, एआई मोडल विकास र सञ्चालनको बढ्दो लागतलाई लिएर उद्योगमाथि प्रश्नसमेत उठिरहेका छन् ।
स्पेसएक्सले जुन महिनामा कीर्तिमानी आईपीओ निष्कासन गरेको केही महिनापछि एन्थ्रोपिक पनि सार्वजनिक सेयर बजारमा प्रवेश गरेको हो । तर पछिल्लो समय एआई क्षेत्रमा लगानीको वातावरण केही चुनौतीपूर्ण बनेको छ ।
एआई उद्योगका लागि महत्त्वपूर्ण मानिएका चिप निर्माता र क्लाउड सेवा प्रदायक कम्पनीहरू पछिल्ला साताहरूमा दबाबमा छन् । कम्पनीहरूको उच्च मूल्याङ्कन, एआई पूर्वाधारमा बढ्दो खर्च र चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङको आकस्मिक राजीनामाले पनि यस क्षेत्रमा थप अनिश्चितता सिर्जना गरेको छ ।

प्रतिक्रिया