लेकसाइडमा मध्यराति ग्याङफाइट, प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ


पोखरा । पोखराको लेकसाइडमा मध्यराति झैझगडा तथा कुटपिटमा संलग्न पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्ट्रिट नम्बर १६ मा मंगलबार राति करिब साढे १२ बजे झैझगडा तथा कुटपिट भइरहेको सूचना प्राप्त भएको थियो ।

सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ चाउथे निवासी ३० वर्षीय निरज शर्मा, २८ वर्षीय विराज अधिकारी, २५ वर्षीय टुकबहादुर गुरुङ, २२ वर्षीय मनोज पुन र स्याङ्जाको हरिनास गाउँपालिका–४ निवासी २३ वर्षीय सन्दीप थापा रहेका छन् ।
उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।