काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनको मानसिकताका साथ हरदम तयार रहन आग्रह गरेका हुन् ।
आन्दोलनका लागि सधैँ लामो तयारी आवश्यक नपर्ने उल्लेख गर्दै उनले असह्य अवस्था सिर्जना भएपछि तत्कालै आन्दोलन उठ्न सक्ने बताए ।
उनले भने,‘आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू । आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ ।’
उनले कुनै ठाउँमा विद्रोह, कतै चुनाव त कतै उपद्रवबाट राजनीतिक उलटफेर हुने गरेको भन्दै एमालेले पनि जुनसुकै परिस्थितिको सामना गर्न तयार रहनुपर्ने बताए ।
अध्यक्ष ओलीले आतंकपूर्ण वातावरण र गतिविधिका कारण पार्टी केही पछाडि धकेलिएको भएपनि त्यस्तो अवस्था सधैँ कायम नरहने दाबी गरे । उनले भने, ‘सबै शक्ति मिलेर सिध्याउन खोज्दा पनि हामी जहाँको त्यहीँ छौँ । हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन, मतलब छैन । नेपालको सबैभन्दा मजबुत देशभक्त र व्यापक सुदृढ शक्ति एमाले हो ।’
अध्यक्ष ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले पुनर्गठन भएर अघि बढ्ने दाबी गर्दै नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न, किसान तथा सर्वसाधारणसँग संवाद गर्न र पार्टीलाई थप सशक्त बनाउन निर्देशन दिए ।

प्रतिक्रिया