काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा र बीमाशुल्क आम्दानी दुवैमा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो तीन महिनामा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.८० प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३० करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा २५.०८ प्रतिशतको वृद्धि हो ।
त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क आम्दानीमा अझ आकर्षक वृद्धि देखिएको छ। गत वर्षको असोज मसान्तसम्म १२ करोड ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यसअनुसार खुद बीमाशुल्क आम्दानी ४७.२५ प्रतिशतले बढेको हो ।
कम्पनीको व्यवसाय विस्तारसँगै बीमालेख संख्यामा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ हजार ५०३ वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३० हजार ९०३ वटा बीमालेख जारी गरेको छ। एक वर्षको अवधिमा कम्पनीले ५ हजार ४०० वटा थप बीमालेख जारी गरेको देखिन्छ ।
यता, बीमितलाई प्रदान गर्ने दाबी भुक्तानी रकममा पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ हजार ९९२ वटा दाबीबापत १४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २ हजार ६८५ वटा दाबीबापत १० करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यसले दाबी संख्या र भुक्तानी रकम दुवै बढेको देखाउँछ ।
कम्पनीको कुल सम्पत्तिमा समेत सुधार आएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ७ अर्ब ४३ करोड ७१ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ८ अर्ब १० करोड ८४ लाख रुपैयाँ पुगेको छ । प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ रहेको छ। कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
वित्तीय सूचकतर्फ कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १४ रुपैयाँ ८५ पैसा थियो। यसअनुसार कम्पनीको नाफा बढे पनि प्रतिशेयर आम्दानी भने घटेको देखिन्छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ११ पैसा र प्रतिशेयर कुल सम्पत्ति ४३८ रुपैयाँ ५५ पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ५.४८ रहेको वित्तीय विवरणमा उल्लेख छ।

प्रतिक्रिया