-खडकराज पौडेल(गनेस)
अप्रिलदेखि अक्टोबर २०२६ सम्मको पर्यटन आगमनको तथ्याङ्क उत्साहजनक छ। यस सात महिनामा ६ लाख ८० हजार २०४ विदेशी पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको सोही अवधिमा ६ लाख ४५ हजार ५५८ पर्यटक आएका थिए। अर्थात् ३४ हजार ६४६ पर्यटक (५.३७ प्रतिशत) को वृद्धि भएको छ।
मासिक तथ्याङ्क हेर्दा केही उपलब्धि अझ उत्साहजनक छन्। मे महिनामा अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशत र जुनमा १९.५ प्रतिशत वृद्धि भएको छ। सेप्टेम्बरमा १२.१ प्रतिशतको वृद्धि हासिल भएको छ। अक्टोबरमा १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल आएका छन्, जुन सन् २०२६ कै अहिलेसम्मको सबैभन्दा धेरै मासिक आगमन हो। अघिल्लो वर्षको अक्टोबरको तुलनामा यो ३.४ प्रतिशत बढी हो। यो वृद्धिमा युरोपेली र अमेरिकी पर्यटकको संख्या अझ प्रेरणादायी छ !
यो वृद्धि सामान्य परिस्थितिमा हासिल भएको होइन। जलवायु परिवर्तनको असरले निम्त्याएको आकस्मिक र भयावह बाढी, त्यसपछिका प्राकृतिक विपत्ति र सामाजिक द्वन्द्वका बाबजुद नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको गति समात्दै गरेको संकेत हो। यसका लागि म सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
विपत्तिका बेला मात्रै होइन, त्यसपछि सम्माननीय प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय मञ्चमा भएको सम्बोधनपछि नेपालप्रति अन्तर्राष्ट्रिय रूपमा बढेको चासोलाई पनि हामीले पर्यटन प्रवर्द्धनको अवसरमा बदल्ने प्रयास गर्यौँ। तर, यो काम हतारमा वा अनियन्त्रित प्रचार गरेर होइन, संयमित र रणनीतिक ढङ्गले गर्यौँ।
नेपालबारेका तथ्य, सूचना र सकारात्मक सामग्रीलाई सामाजिक सञ्जाल, सर्च इन्जिन र कृत्रिम बौद्धिकता (AI) प्रणालीसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन काम गर्यौँ। TikTok लगायतका अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्महरूसँग संवाद, सहकार्य र साझेदारी अघि बढायौँ। अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका मञ्चहरूमा आफैँ उपस्थित भएर र प्रतिनिधिहरू पठाएर नेपालको वास्तविक पर्यटन सम्भावना विश्वसामु पुर्याउने काम गर्यौँ।
बाढीपछि #NepalCalling र #IamInNepal #NepalsSafe जस्ता अभियानमार्फत नेपाल खुला छ, नेपाल स्वागत गर्न तयार छ र विपत्तिबाट प्रभावित सीमित क्षेत्रबाहेक देशका अधिकांश पर्यटन गन्तव्यहरू पर्यटकका लागि खुला छन् भन्ने सन्देश विश्वभर पुर्याउन हामीले निरन्तर प्रयास गर्यौँ। यस अभियानमा विदेशी पर्यटक, हिमाल आरोही, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, नेपालका मित्रहरू र सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्वहरूको योगदान अत्यन्त महत्त्वपूर्ण रह्यो। सबैभन्दा ठूलो सहयोग निजी क्षेत्रको रह्यो ! पर्यटन भातृत्वलाई संवाद, सहकार्य र संमयतापूर्ण प्रवर्द्धनमा प्रयोग गर्न निजी क्षेत्रले ठूलो कसरत गर्यो ।
यससँगै नेपालको हवाई सुरक्षाको अन्तर्राष्ट्रिय छवि सुधार गर्नु अर्को महत्त्वपूर्ण चुनौती हामीसँग छ। सन् २०१२ देखि निरन्तर युरोपेली संघ (EU) को हवाई सुरक्षा सूचीमा रहेको अवस्थालाई अन्त्य गर्न हामीले नीतिगत, संरचनागत र कूटनीतिक तहमा काम अघि बढाएका छौँ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) लाई नियमनकारी र सेवाप्रदायक गरी दुई विशिष्ट निकायमा विभाजन गर्ने विधेयकलाई अन्तिम रूप दिएर संसद्मा दर्ता गरेका छौँ। हवाई दुर्घटनाको अनुसन्धानका लागि छुट्टै स्वतन्त्र निकाय गठन गर्ने गरी विधेयकको मस्यौदा पनि तयार भइसकेको छ र छिट्टै संसद्मा प्रस्तुत हुनेछ। EU कै मार्गदर्शनअनुसार Corrective Action Plan तयार गरी ब्रसेल्समा प्रस्तुत गरेका छौँ। यस क्रममा सकारात्मक सुझाव र आश्वासन प्राप्त भएका छन्। यस्ता संरचनागत सुधारको परिणाम आउन केही प्रशासनिक समय लाग्नु स्वाभाविक हो। तर हामी प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ।
हवाई सम्पर्क र वास्तविक बजारमा आधारित पर्यटन प्रवर्द्धनलाई पनि सँगसँगै अघि बढाएका छौँ। अयोध्या–जनकपुर रेल सम्पर्क विस्तारपछि मधेस हुँदै नेपालका अन्य धार्मिक तथा सांस्कृतिक गन्तव्यसम्म भारतीय पर्यटकको आवागमन सहज बनाउन निजी क्षेत्रसँग निरन्तर छलफल र समन्वय गरिरहेका छौँ।
यति ठूलो विपत्तिले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक थियो। ट्रेकिङ र हिमाल आरोहणको मुख्य सिजनमै भएको क्षतिका बाबजुद निजी क्षेत्रका साथीहरूले देखाउनुभएको धैर्य, एकता र प्रतिबद्धता प्रशंसनीय छ। होटल व्यवसायी, ट्रेकिङ तथा पर्वतारोहण व्यवसायी, टुर अपरेटर, गाइड, हवाई सेवा प्रदायक, पर्यटन मजदुर र समग्र पर्यटन उद्यमी साथीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।
नेपाललाई माया गर्ने विदेशी नागरिक, हिमाल आरोही, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक सञ्जालका सिर्जनाकर्मी र विभिन्न देशमा रहेका नेपाली नियोग तथा गैरआवासीय नेपालीहरूको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रह्यो। नेपालको पक्षमा बोलिदिने, नेपालको वास्तविक अवस्था विश्वसामु पुर्याइदिने र नेपाल भ्रमणका लागि अरूलाई प्रेरित गर्ने सबैप्रति हार्दिक कृतज्ञता!
विशेषतः यति चुनौतीपूर्ण परिस्थितिका बीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा FlyDubai को नियमित उडानलाई निरन्तरता दिँदै दिगो सञ्चालनतर्फ अघि बढाउन सहयोग गर्ने संयुक्त अरब इमिरेट्स (UAE) सरकार, नेपालस्थित महामहिम राजदूत, FlyDubai का क्षेत्रीय निर्देशक, नेपालका GSA प्रतिनिधि तथा यसमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। यस उडानलाई सफल बनाउन र यसको प्रचारप्रसारमा साथ दिने पोखरासहित समग्र नेपालको निजी क्षेत्रको समर्थन र सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण छ। निजी क्षेत्रको विश्वास र साथबिना यस्ता उपलब्धि सम्भव हुँदैनन्।
यी तथ्याङ्कलाई हामीले उपलब्धिको अन्तिम बिन्दुका रूपमा होइन, अझ धेरै काम गर्नुपर्ने प्रेरणाका रूपमा लिएका छौँ। पर्यटन पुनरुत्थानको यात्रा अझै बाँकी छ। हवाई सुरक्षा सुधार, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटकीय पूर्वाधार, गन्तव्यको विविधीकरण, गुणस्तरीय सेवा र प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारमा हामीले अझ धेरै काम गर्नुपर्नेछ। अन्त्यमा, यो पुनरुत्थान कुनै एक व्यक्ति, सरकार वा मन्त्रालयको प्रयासबाट मात्र सम्भव भएको होइन। यो सबैको साझा प्रयासको परिणाम हो। त्यसैले सरकार, निजी क्षेत्र, पर्यटनकर्मी, सञ्चारमाध्यम, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय साझेदार, विदेशी मित्रहरू, नेपाली डायस्पोरा र आम नागरिक सबैलाई हार्दिक धन्यवाद ! नेपाललाई माया गरौँ, नेपाल घुमौँ, नेपाललाई विश्वसामु चिनाऔँ। हिजो जसरी साथ दिनुभयो, आगामी दिनमा पनि नेपालको पर्यटन प्रवर्द्धन र पुनरुत्थानको यो अभियानमा निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु। नेपाल खुला छ। नेपाल स्वागत गर्न तयार छ। नेपाल तपाईंहरूलाई पर्खिरहेको छ।

प्रतिक्रिया