काठमाडौं । छठ पर्वको अवसर पारेर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू मधेस केन्द्रित भएका छन् । धार्मिक आस्थासँगै जनतासँगको सम्बन्ध बलियो बनाउने र आफ्नो राजनीतिक प्रभाव कायम राख्ने उद्देश्यले नेताहरू छठ मनाउन मधेस पुगेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पत्नी निकितासहित जनकपुर पुगेका थिए। उनले आइतबार जनकपुरस्थित गंगासागर पोखरीमा आयोजित छठ पूजामा सहभागी भएर पूजाअर्चना गरे।
नेपाली कांग्रेसका सभापति गगन थापा पनि पत्नी अञ्जना केसीसहित आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन् । आइतबार बिहान छठघाटमा पुगेर पूजापाठ तथा दर्शन गरेका थापा सोमबार वीरगन्जका विभिन्न छठघाटमा पुगेर व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
त्यस्तै, सभामुख डीपी अर्याल पनि छठ पर्व मनाउन मधेस पुगेका छन्। उनले आइतबार वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागिता जनाए।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा मधेससहित देशभर उल्लेख्य सफलता हासिल गरेको रास्वपाले आफ्नो राजनीतिक आधार थप मजबुत बनाउने प्रयास गरिरहेका बेला सभापति लामिछानेको जनकपुर भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यता, सर्लाही–४ बाट निर्वाचनमा पराजित भएका कांग्रेस सभापति थापाको आफ्नै निर्वाचन क्षेत्रमा छठ मनाउन पुग्नुलाई पनि स्थानीय जनतासँग पुनः सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ।
नेताहरूले धार्मिक पर्व मनाउन मधेस आएको बताए पनि छठघाटमा उनीहरूको उपस्थितिलाई राजनीतिक सन्देश र जनसम्पर्क विस्तारको अवसरका रूपमा समेत हेरिएको छ। यसले छठ पर्वको धार्मिक र सांस्कृतिक महत्वसँगै मधेसको राजनीतिक महत्त्वलाई पनि पुनः चर्चामा ल्याएको छ।

प्रतिक्रिया