छठ पर्व : सूर्य उपासनादेखि श्रमण संस्कृतिसम्मको ऐतिहासिक यात्रा


उमेश भारद्वाज

छठ पर्व मध्य देश,( मधेश ) तराईका अधिकांश जिल्लाहरूमा र काठमाडौं तथा अन्य शहरमा धुमधाम साथ मनाइन्छ। छठ पर्व गर्नाले पुत्र लाभ, पति,आयु, यश, धन बल, कामना सहित को लाभ प्राप्त हुन्छ भने विश्वास रहेका छ। यस पर्वको शुरुवात कहिलेदेखी भएको हो एकिन तथ्य प्रमाण उलेख भएको देखिदैन। किम्बदन्ती, लोकोती ,धार्मिक बिचार धाराबाट यसरी बुझ्न सकिन्छ।

कार्तिक शुक्लपक्ष षष्ठीमा मनाइने छठ पर्वमा श्रमण परम्पराका धेरै लक्षण देखिन्छन्। श्रम ( कर्म) द्वारा मोक्ष प्राप्तिको मार्ग मान्ने श्रमण परम्परा हो। व्यक्तिको जीवनमा श्रमको आवश्यकता मान्ने श्रमण परम्परा तथा सम्प्रदायका उल्लेख प्राचीन बौद्ध तथा जैन धर्मग्रन्थहरूमा पाइन्छ। अर्को तिर गीता, वेद, उपनिषद् अनि स्मृतिहरू हिन्दुहरूका धर्म-दर्शन ब्राह्मण परम्पराबाट उत्पन्न भएका छन् भने कति श्रमण परम्पराबाट आएका छन्। (ब्राह्मण भन्नाले ज्ञान न कि जाति) प्राचीन कालदेखि जैन, आजीविक, चार्वाक् र बौद्ध दर्शन श्रमण परम्पराका उपज मानिन्छन्।

संस्कृत एवम् प्राकृतमा श्रमण शब्दका तीन रूप छन् – श्रमण, समन र शमन। श्रमण शब्द श्रम धातुबाट बनिएको हुनाले परिश्रम गर्नुलाई श्रमण भनिन्छ। समन भनेको चाहिँ सबैसित समताभाव राख्नु वा आत्मवत् हुनु हो। शमन भनेको आफ्ना वृत्तिहरूलाई शान्त राख्नु वा चित्तवृत्तिलाई निरोध गर्नु हो।

मानव समाज यही तीन वृत्तिबाट सञ्चालित छन् जसमा कर्म प्रधान हो। पुरोहितबिना पनि पूजा हुन सक्ने, आफ्नो उपकार आफैँ गर्न सक्ने, विवेक र बुद्धिलाई उपयोगमा ल्याउने अभ्यास कर्मले गरेका हुन्छन्। लोकतन्त्रको मूल मर्म आस्थाको महापर्व छठ पर्व बाट जान्न र बुझ्न सकिन्छ।

बौद्ध आदि कति सम्प्रदायले स्तूपमा पूजा वा ध्यान गर्ने गर्दछन्। ढुङ्गा, माटो, इँट आदिले बनेको थुप्रो वा ढिस्कोलाई स्तूप भनिन्छ। विशेष गरी बौद्धहरूले बुद्धका अवशिष्ट चिह्न राख्नाका लागि बनाउने स्मारक स्तूप हो। छठ पूजा गर्दा राखिने मनौती स्तूप जसलाई पिडीया या श्रीसप्ता भनिन्छ। यसै परम्पराको उपज हो। छठ मिथिला क्षेत्रको मूल पर्व रहेको पाइन्छ। मिथिला क्षेत्र भनेको नेपालको तराई, पूर्वी उत्तर प्रदेश र बिहार हुन्।

छठ पूजा गर्नेहरूले षष्ठीको बिहान अमिताभलाई अर्घ्य दिँदछन् । अमिताभ भनेको सूर्य हो। सूर्यको १२ नाम मध्य अमिताभ बुद्ध भनेको ज्ञानप्रकाश हो। छठ पर्व ज्ञान ज्योत्स्नाको पूजा हो। स्थिरवादी बौद्ध परम्परामा बुद्धलाई ज्ञानप्रकाशका रूपमा सूर्य भनी वर्णन गरेका पाइन्छन्। मूर्तिकलाको इतिहास हेरे प्राचीन अमिताभ बुद्धकै प्रतिरूप दशौँ शताब्दीपछिका सूर्यदेवको मूर्ति मानेको पाइन्छ। अमिताभ भनेको असीम प्रकाश हो। महायान बौद्ध धर्मका पाँच आदिम वा ध्यानी बुद्धमध्ये एकजना अमिताभ हुन्। अमिताभलाई अमिदा वा अमितायस (असीम जीवन) पनि भनिएको पाइन्छ।यसै कारणले अस्ताउँदो सूर्यको उपासना गरिन्छ।

यस पर्वमा चलाइने विशेष शब्दहरू संस्कृत मूलबाट निसृत भएका छैनन् तर प्राकृत-पालि भाषाबाट आएका छन् – छठ, गाला, ठेकुवा, कसार, अरक, हडिया, काटीया, हाथी,मनौती, नहा-खाई,खरना, डाला (दउरा), कोसिया ,सुपली, पान, सुपारी, फल, फूल, मेवा, केला, अरकपात, कृषि कर्म सित सम्बन्धित खाद्य वस्तु आदि। पुरोहित नलगी नदीतटमा परिवार-परिवार-सपरिवार गएर आफ्नो पूजा आफै गर्ने श्रमण परम्पराको तत्त्व छठ पूजामा पाइन्छ। आफ्नो दीपक आफै बन्न सक्ने सामर्थ्यको आग्रह बौद्ध मन्त्र ‘अप्प दीपो भव’-मा पाइन्छ।वर्तमान नेपालको तराई, वर्तमान उत्तरप्रदेशको पूर्वी भाग र वर्तमान बिहार भगवान् बुद्धको प्रारम्भिक ज्ञान प्रचारका क्षेत्र थिए। प्राचीन कालमा सम्राट् अशोकको राजधानी पाटलीपुत्र अहिलेको पटना हो। यसै ठाउँबाट मगध साम्राज्य सञ्चालित भएको हो। बुद्धको समय इसापूर्व छैटौँ शताब्दी हो। येसु जन्मनुभन्दा २७४ वर्षअघि अशोक प्रियदर्शिनी राजा बनेका थिए। त्यस बेलादेखि स्तूप- पिडीया – श्रीसप्ता राखेर सूर्यलाई अर्घ्य दिने परम्परा बसि आएको हो।

मध्य देश मधेश,बिहारका कति ठाउँमा छठ पूजामा बनाइएको वेदीलाई श्रीसप्ता वा सिरसोक्ता भन्ने गर्दछन्। संस्कृतमा बुद्धलाई श्रीपाद भनेजस्तै पालिमा श्री भनिएको पाइन्छ। संस्कृतमा भन्नुपरे श्रीस्तूप हो। पालिमा बुद्धलाई सिरि भनिएको । सोक्ता भनेको स्तूपको अपभ्रंश शब्द हो। बिहारका स्थानीय भाषामा सिरसोक्ता भनेको बौद्ध स्तूप नै हो। वैशाली र नालन्दाका स-साना स्तूपकै आकारमा मनौती स्तूप राखिएका हुन्छन्।

छठ पर्वलाई महाभारत र पुराणका कथाहरूसित जोड़ेर वैष्णव सम्प्रदायसित तथा छठी मैञाको परिकल्पना गरेर सौर्य सम्प्रदायसित जोड़ेको पनि देखिन्छ। महाभारत काल मा माता कुन्ती सूर्यको उपासक रहेकाले पुत्र लाभ पाएका हुन्।
राम कालिन अवस्थामा वनबास मा जादा पुत्र वियोग पुत्र लाभ केकयी र कौशल्याको सूर्य प्रती गरको आराधनाले पनि दर्शाएको देखिन्छ।

भैयादूज (भाइटीका)-को भोलिपल्ट तृतीयादेखि यो पर्व थालिएर चार दिन मनाइन्छ। चार दिने यस व्रतमा (व्रति) पवनैतिन उपवासमा रहने र रात परेपछि मात्र खाने पनि गर्दछन्। भोजनका साथै सुखद् शैय्या पनि त्यागेर भुइँमै सुत्ने अभ्यास गर्दछन्। यस चार दिनहरुमा सब दिन महत्वपूर्ण मानिन्छ तर जति जति दिन नजिकदै जान्छ छठी मैयाँको आस्था र प्रभाव अझै पवित्र हुदै जान्छ नहा-खायको पबनैतिन शरीरलाई नुहाई धुहाई गरी पुजा पाठ गरी विभिन्न साकाहारी शुद्ध परिकार खान्छन् त्यसको भोलि पल्ट खरणा हुन्छ, यस दिन दिनमा उपवास बसी राति पश्चिम तर्फ अस्ताएको सूर्यको पुजा गरी परिवार तथा आफन्तलाइ खिर मिष्ठान प्रसाद खुवाइन्छ।सझिया घाटे पकाएको ठेकुवा मिष्ठान डाला दाउरामा राखि करिब दुरीकि हिसाबले दुई बजेदेखी ३ बजेसम्म नदी घाट जान्छन। कुनै ठाउमा राति तेही बस्ने गर्छन काही काही डाला लिएर घर आउने चलन रहेछ देखिन्छ यस राति कोसिय हातीवाला कोसीया, घैलावाला कोसीय हुने गर्दछ जहाँ अपना नजिकका सबैका डाला राखि पात बाला उखु र काँडा जाति खर पात्वार राखि पुजा गर्ने गर्छन। यसकै बिहानी पल्ट उदाउँदो सूर्य को पुजा आराधना गरी परणा हुन्छ तत्पश्चात घाट भएका श्रद्धालुहरु प्रसाद वितरण गरी समापन हुन्छ। महादेव जनता आधारभूत बिधालय सुदामाको नगेन्द्र सिंह छठ पावनीको जानकार रेणु सिंहको केही भनाइ रहेको छ।छठ महापर्वको महाप्रसाद ठेकुआ हो। ठेकुआलाई खमौनी वा खबौनी वा ठोकनी पनि भनिन्छ ।

बिहार, झारखण्ड, पूर्वी उत्तरप्रदेश तथा नेपालको तराई क्षेत्रमा ठेकुआ लोकप्रिय मिष्ठान हो। गहुँको आँटा, चिनी वा गुँड र घिऊको प्रयोग गरिएको र तेलमा खारिएको मिठाईमा चित्र पनि बनाइएको हुन्छ। ठेकुआको एकपट्टि बोधिवृक्ष पिपलको पात अङ्कित गरिएको हुन्छ भने अर्कोपट्टि सनातन संस्कृतिमा बहुतायत प्रयोग हुने धम्म चिह्न वा धर्मचक्र अङ्कित गरिएको पाइन्छ। बौद्ध पन्थमा धर्मचक्रको विशेष महत्त्व हुन्छ। बुद्धले सारनाथमा दिएको प्रथम धर्मोपदेशलाई धर्मचक्रप्रवर्तन भनिन्छ। बौद्ध मन्दिर, मूर्ति तथा शिलालेखहरूतिर शुभालङ्कारको रूपमा प्रयोग हुने धर्मचक्र ठेकुवामा हुन्छै-हुन्छ। अशोक चक्र त्यही हो।

धर्मचक्रलाई पालिमा ‘धम्मचक्क’ भनिन्छ यसको अर्थ हो धर्मको चक्का। बौद्ध, जैन, सिख, हिन्दू गरी सबै सनातनीले अष्टमङ्गलमध्ये एउटा प्रतीक धर्मचक्र ग्रहण गरेको पाइन्छ। जसरी भारतको राष्ट्रध्वजमा ग्रहण गरिएको अशोक चक्रभित्र २४ धर्का (spokes) बुद्ध निदेशित शिष्यसन्तहरूका २४ गुण हुन्। जैनको धर्मचक्रमा २४ तीर्थङ्करको स्मृति हुन्छ। पुराणको धर्मचक्रमा गायत्री मन्त्रका अधिकारी २४ ऋषि हुन्। ठेकुवामा हुने धर्मचक्रमा आठवटा धर्का बुद्ध निदेशित अष्टाङ्गिक मार्ग हुन्। अचेल त ठेकुवामा लाउने टाँचा (seal) पनि बनिएका छन् तर तिनीहरूमा मनपरी धर्का हुन्छन्, कसैमा छवटा, कसैमा चारवटा। यसको कुनै अर्थ लाग्दैन।

छठको बौद्ध सांस्कृतिक पृष्ठभूमिबारे भाषाविद् तथा बौद्ध इतिहासका अध्येता राजेन्द्र प्रसाद सिंहले विशेष तर्क प्रस्तुत गरेका छन्। उनको विचारमा छठको प्रचलित भौगोलिक क्षेत्र त्यही भूभाग हो जहाँ गौतम बुद्धले विचरण गर्नुभएको थियो र बौद्ध धर्मले राजकीय संरक्षणसमेत प्राप्त गरेको थियो। उनले छठको प्रसादका रूपमा बनाइने ठेकुवाको माथिल्लो भागमा प्रयोग हुने पीपलका पात र धम्मचक्रका आकृतिलाई पनि बौद्ध सांस्कृतिक प्रभावसँग जोडेर व्याख्या गरेका छन्। पीपल वृक्ष बौद्ध परम्परामा बोधिवृक्षका रूपमा श्रद्धेय छ भने धम्मचक्र बुद्धको धर्मचक्रप्रवर्तन र आर्य अष्टाङ्गिक मार्गको प्रतीक हो। बनारस हिन्दू विश्व विद्यालय नेपाली भाषा विभागको एच.ओ.डी. डा.दिवाकर प्रधानज्यूको समर्थन रहेकाे देखिन्छ।छठको ऐतिहासिक विकाससम्बन्धी अध्ययनमा सूर्योपासना, षष्ठी देवीको आराधना र कृषिसंस्कृतिको सम्मिश्रणलाई पनि महत्त्व दिइएको छ। महाभारतमा सूर्योपासनासम्बन्धी प्रसङ्ग पाइन्छन्। कर्ण र द्रौपदीसँग जोडिएका सूर्यपूजाका कथाहरू छठको वर्तमान धार्मिक व्याख्यामा पनि समावेश गरिएका छन्। अर्कातिर, षष्ठी देवीलाई सन्तानको रक्षा गर्ने देवीका रूपमा प्रस्तुत गर्ने पौराणिक परम्परा पनि छ।

छठको अझ प्राचीन प्रकृतिपरक तथा कृषिपरक आधारबारे भर्खरै प्रकाशित पुरातात्त्विक र नृवंशशास्त्रीय अध्ययन पनि उल्लेखनीय छ। स्कन्द मञ्जुल र सञ्जयकुमार मञ्जुलको अध्ययनले मध्य गङ्गा मैदानका प्राचीन कृषि समुदायसँग छठका नदीकेन्द्रित अनुष्ठान, धान तथा अन्य कृषि उत्पादनको प्रयोग, जलस्रोतप्रतिको निर्भरता र परम्परागत सामग्रीको सम्बन्धको विश्लेषण गरेको छ।

लहुरादेवा, कोल्डिहवा, महागरा, चिरान्द र झुसीजस्ता पुरातात्त्विक स्थलका प्रमाणसँग छठको वर्तमान अनुष्ठानको तुलना गरिएको छ। यस अध्ययनले प्रागैतिहासिक कृषिसंस्कृति र वर्तमान छठबीच प्रत्यक्ष ऐतिहासिक निरन्तरता निर्णायक रूपमा प्रमाणित गर्न सकिने स्पष्ट पार्दै पनि यी परम्पराहरूबीच उल्लेखनीय सांस्कृतिक समानता रहेको देखाएको छ।

यसै सन्दर्भमा छठको बौद्ध सम्बन्धबारे जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयको Centre for Asian and Transcultural Studies-द्वारा प्रकाशित अध्ययन पनि उल्लेखनीय छ। त्यसमा छठलाई प्रकृति, सूर्य, नदी र कृषि उत्पादनप्रति कृतज्ञता व्यक्त गर्ने प्रकृतिपर्वका रूपमा विश्लेषण गरिएको छ। उक्त अध्ययनले छठी मैयालाई उत्तरकालीन बौद्ध परम्पराकी मारीची देवीसँग तुलना गर्ने बौद्ध पक्षको दाबीसमेत उल्लेख गरेको छ। मारीची बौद्ध वज्रयान परम्पराकी देवी हुन्, जसको सम्बन्ध प्रकाश र सूर्यको प्रतीकात्मक शक्तिसँग सम्बन्धित मानिएको पाइन्छ। यद्यपि छठी मैया र मारीची एउटै देवी हुन् भन्ने ऐतिहासिक प्रमाण प्रस्तुत गरिएको छैन। त्यसैले यो समानतालाई प्रमाणित ऐतिहासिक तथ्यभन्दा तुलनात्मक धार्मिक अध्ययनको विषय मान्नु उचित हुन्छ।वर्तमान समयमा हिन्दू समुदायले व्यापक रूपमा मनाउने यस पर्वमा अन्य धार्मिक तथा सांस्कृतिक समुदायको सहभागिता पनि पाइन्छ। प्राचीन नेपाल र भारतमा विभिन्न धार्मिकि परम्पराहरूबीच सांस्कृतिक आदानप्रदान र अनुष्ठानहरूको समन्वय सामान्य ऐतिहासिक प्रक्रिया थियो। छठको इतिहासलाई कुनै एउटा धार्मिक सम्प्रदायको सीमाभित्र मात्र नराखी प्राचीन गङ्गा सभ्यता, कृषिसंस्कृति, सूर्योपासना, लोकविश्वास र बौद्ध परम्पराको अन्तरसम्बन्धबाट अध्ययन गर्नु धेर वस्तुनिष्ठ हुनेछ। यस दृष्टिले छठलाई प्राचीन सनातन साझा सांस्कृतिक सम्पदाका रूपमा बुझ्नु र यसको बौद्ध ऐतिहासिक सम्बन्धबारे थप प्रमाण सङ्कलन गर्नु आवश्यक छ।

निष्कर्ष:
तीन ‘श’ श्रमण, समन र शमन। श्रमण शब्द श्रम धातुबाट बनिएको हुनाले परिश्रम गर्नुलाई श्रमण भनिन्छ। समन भनेको चाहिँ सबैसित समताभाव राख्नु वा आत्मवत् हुनु हो। शमन भनेको आफ्ना वृत्तिहरूलाई शान्त राख्नु वा चित्तवृत्तिलाई निरोध गर्नु हो। मानव समाज यही तीन वृत्तिबाट सञ्चालित छन् जसमा कर्म प्रधान हो। पुरोहितबिना पनि पूजा हुन सक्ने, आफ्नो उपकार आफै गर्न सक्ने, विवेक र बुद्धिलाई उपयोगमा ल्याउने अभ्यास कर्मले गरेका हुन्छन्। लोकतन्त्रको मूल मर्म आस्थाको महापर्व छठपर्व बाट जान्न र बुझ्न सकिन्छ।

लेखक राजनीति शास्त्र अध्यता हुन्।