ललितपुर । ललितपुरको पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच शुक्रबार रातिदेखि सुरु भएको छ । पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा विशेष पूजाआजासहित नाचको प्रदर्शन सुरु गरिएको हो ।
मल्लकालीन इतिहास र संस्कृतिसँग जोडिएको कार्तिक नाचमा झन्डै एक दर्जन विभिन्न नाच प्रदर्शन गरिन्छन् । भगवान् विष्णुका १७ वटा कथामा आधारित रहेको मानिने यस नाचमा हरेक दिन फरकफरक कथाअनुसारका लीला तथा नृत्य प्रस्तुत गरिन्छन् ।
इतिहासअनुसार नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले कार्तिक नाचको सुरुवात गरेका थिए । ललितपुरका बासिन्दालाई भय र त्रासबाट मुक्त गराउने उद्देश्यले उनले यो नाच सुरु गरेको जनविश्वास छ । सुरुमा पाँच दिनसम्म मात्र प्रदर्शन गरिने यो नाचलाई पछि विस्तार गरिएको थियो ।
राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ‘बाथः प्याखँ’ अर्थात् लोकनाटक, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर नाचको अवधि १५ दिन पुर्याएको संस्कृतिविद्हरू बताउँछन् ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाचले मल्लकालीन कला, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै आएको छ । हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने यो नाच अवलोकन गर्न स्वदेशी तथा विदेशी दर्शक पाटन पुग्ने गर्छन् ।

प्रतिक्रिया