टोकियो। जापान सरकारले आगामी पाँच वर्षमा रक्षा खर्च उल्लेख्य रूपमा बढाएर ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्याउने तयारी गरेको छ ।
जापानी समाचार संस्था क्योदो न्युजका अनुसार आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मको अवधिका लागि सरकारले उक्त रक्षा बजेट प्रस्ताव गर्ने योजना बनाएको हो ।
रिपोर्टअनुसार जापानले आफ्नो सैन्य क्षमता विस्तारका लागि ठूलो संख्यामा ड्रोन, गोलीगट्ठा तथा क्षेप्यास्त्र खरिदलाई प्राथमिकता दिनेछ । यसका लागि सरकारले राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी तीन प्रमुख दस्तावेज संशोधन गर्ने तयारी गरेको छ ।
सन् २०२२ को अन्त्यमा तयार गरिएका ती दस्तावेजमा आर्थिक वर्ष २०२३ देखि २०२७ सम्म पाँच वर्षका लागि करिब ४३ ट्रिलियन येन रक्षा खर्च गर्ने लक्ष्य निर्धारण गरिएको थियो । प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले यसै वर्षको अन्त्यसम्ममा उक्त दस्तावेज संशोधन गर्ने योजना बनाएको छ ।
जापानको रक्षा बजेट पछिल्ला वर्षहरूमा लगातार बढ्दै कीर्तिमानी स्तरमा पुगेको छ । यसले देशभित्र सैन्य खर्च विस्तारबारे चिन्ता र विरोधसमेत बढाएको छ ।
सरकारको सैन्य विस्तार नीति, रक्षा बजेटमा निरन्तर वृद्धि तथा त्यसबाट सर्वसाधारणमाथि पर्ने थप आर्थिक भारको विरोधमा जापानी नागरिकहरूले यस वर्ष विभिन्न स्थानमा पटक–पटक प्रदर्शन गरेका छन् ।
जापानी सञ्चारमाध्यम ‘टोकियो शिम्बुन’ले रक्षा खर्चमा भइरहेको वृद्धिले जनताको दैनिक जीवन, सामाजिक सेवा तथा कल्याणकारी कार्यक्रमका लागि छुट्याइने बजेटमा दबाब पर्न सक्ने टिप्पणी गरेको छ ।
जापानको प्रस्तावित नयाँ रक्षा बजेटले आगामी वर्षहरूमा देशको सुरक्षा नीति र सार्वजनिक खर्चको प्राथमिकताबारे बहस थप चर्काउने देखिएको छ ।

प्रतिक्रिया