काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्याएको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई शुक्रबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार डीडीसीका तत्कालीन महाप्रबन्धक, उच्च तहका प्रशासनिक अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा पूर्वयोजनाअनुसार संगठित सञ्जाल खडा गरी संस्थानलाई आर्थिक नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उक्त कार्यबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको सीआईबीले जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी घर भएका ४५ वर्षीय शर्मा हाल ललितपुर महानगरपालिका–२५ भैंसेपाटीमा बस्दै आएका थिए ।
उनलाई आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया