काठमाडौँ । नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै, कांग्रेसले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै कांग्रेसले दुर्घटना न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा सडक दुर्घटनाका कारणको गहन अध्ययन गरी सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गर्नुपर्ने उल्लेख छ । साथै, दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया