ह्वाङको प्रेम सम्बन्ध प्रकरण थप पेचिलो, तेस्री महिलासँग पनि सम्बन्ध रहेको दाबी


रोयटर्स । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङको अर्की एक महिला कर्मचारीसँग पनि अन्तरंग सम्बन्ध रहेको खुलासा भएको छ ।

रोयटर्सका अनुसार यस विषयमा जानकार दुई व्यक्तिले ह्वाङको कम्पनीकै अर्की कर्मचारीसँग सम्बन्ध रहेको बताएका हुन् । यसअघि दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि उनले बिहीबार पदबाट राजीनामा दिएका थिए ।

ह्वाङको सम्बन्ध रहेको भनिएका महिलामध्ये एलिस ह्वाङमाथि अमेरिकी गुप्तचर निकायले चीनका लागि जासुसी गरेको आशंका गरेको छ । अर्की महिला एनभिडियाकी स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किम्बर्ली पावेल हुन् । रोयटर्सले पछिल्लो खुलासामा जोडिएकी तेस्री महिलाको नाम भने सार्वजनिक गरेको छैन ।

ह्वाङले नोभेम्बर ८ मा जारी गरेको वक्तव्यमा विवाहेतर सम्बन्ध रहेको स्वीकार गरेका थिए । यद्यपि उनले सम्बन्धमा रहेकी महिलाको नाम खुलाएका थिएनन् । ६३ वर्षीय विवाहित ह्वाङमाथि सम्बन्धबारेका समाचार सार्वजनिक भएपछि राजीनामा दिन दबाब बढेको थियो ।

उनको बहिर्गमनले एआई उद्योगमा समेत प्रभाव पार्न सक्ने बताइएको छ । एनभिडियाले आफ्नो वित्तीय सामथ्र्य प्रयोग गर्दै चिप खरिद सहज बनाउने विभिन्न वित्तीय व्यवस्था र लगानीमार्फत एआई उद्योगको विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

ह्वाङको राजीनामापछि कम्पनीको सञ्चालक समितिले वित्त प्रमुख कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरेको छ । नयाँ नेतृत्व चयनका लागि आन्तरिक तथा बाह्य उम्मेदवारमाथि विचार भइरहेको कम्पनीले जनाएको छ ।

यसअघि एनभिडियाको सञ्चालक समितिले ह्वाङ विदेशी गुप्तचर गतिविधिको निशानामा परेको हुन सक्ने विषयमा स्वतन्त्र सञ्चालक र बाह्य कानुनी सल्लाहकारमार्फत अनुसन्धान अघि बढाएको थियो ।

यसैबीच, बिहीबारको कारोबारमा एनभिडियाको सेयर मूल्य ५.५ प्रतिशतले घटेको छ । अक्टोबरको सुरुआती उच्च बिन्दुदेखि कम्पनीको सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले गिरावट आएको रोयटर्सले जनाएको छ ।