कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी एनपीएलको प्लेअफमा


काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरेको हो ।

कर्णाली याक्सले दिएको १०६ रनको लक्ष्य लुम्बिनी लायन्सले १६ .४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । लुम्बिनी लायन्सका लागि ओपनर डार्सी सटले सर्वाधिक ४६ रनको योगदान दिए । ३४ बल खेलेका डार्सीले ६ चौका र १ छक्का प्रहार गरे ।

निरोसन डिकवालाले १६ रन जोडे । १३ बल खेलेका डिकवालाले २ चौका प्रहार गरे । दिलिप नाथ २८ र रुबेन ट्रम्पलम्यान २ रनमा अविजित रहे । २७ बल खेलेका दिलिपले ४ चौका प्रहार गरे । समिम होसैनले ५ रन जोडे । होसैनले ५ बलमा १ चौका प्रहार गरे । डिकवालाअघि सन्दीप जोरा ४, कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेख समान १–१ रन जोडेर पभिलियन फर्किएका थिए ।

कर्णाली याक्सका लागि मार्क वाटले ४ विकेट लिए । यस्तै, पवन सराफ र हुसैन तलातले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले १९.२ ओभरमा अलआउट हुँदै १०५ रनको योगफल तयार पारेको थियो ।