बीबीसी हिन्दी । भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गर्नुको कारण र त्यसबेला छोरा राहुल गान्धी उनीसँग किन रिसाएका थिए भन्ने विषय आफ्नो नयाँ पुस्तक ‘बिलङ्गिङः अ जर्नी अफ लभ’ मा खुलाएकी छन् । सोनिया गान्धीले सामाजिक सञ्जाल एक्समा पुस्तकको प्रसङ्ग उल्लेख गर्दै लेखेकी छन्, ‘मेरो मनबाट शङ्काको अन्तिम अंश पनि अचानक हट्यो। मैले आफैँलाई भनेँ– सोनिया, आफू प्रति इमान्दार बन। तिमीले सधैँदेखि यो कुरा जान्दै आएकी थियौ। अब यसलाई छोडिदेऊ।’
उनको पुस्तकमा सन् २००४ को लोकसभा निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रम, प्रधानमन्त्री पद अस्वीकार गर्ने निर्णय र परिवारको प्रतिक्रियाबारे विभिन्न प्रसङ्ग समेटिएका छन्।
प्रधानमन्त्री बन्न चाहँदैनथिन् सोनिया
सन् २००४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) पराजित भएपछि कांग्रेस नेतृत्वमा संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकार गठनको बाटो खुलेको थियो। त्यसबेला कांग्रेसको नेतृत्व सोनिया गान्धीले गरिरहेकी थिइन्। निर्वाचनमा कांग्रेसको सफलतापछि उनी प्रधानमन्त्री बन्ने चर्चा व्यापक बनेको थियो। कांग्रेसका धेरै कार्यकर्ता उनलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहन्थे भने भाजपासहित विपक्षी दलका नेताहरूले उनको विदेशी मूलको विषय उठाउँदै विरोध गरिरहेका थिए। तर सोनियाले आफ्नो पुस्तकमा निर्वाचन हुनुभन्दा केही महिनाअघि नै आफू प्रधानमन्त्री नबन्ने निर्णय गरिसकेको उल्लेख गरेकी छन्।
‘निर्वाचनभन्दा केही महिनाअघि मैले र मेरा छोराछोरीले मेरो प्रधानमन्त्री बन्ने विषयमा कुरा गरेका थियौँ। पार्टीले चुनाव जितेमा प्रधानमन्त्री पद स्वीकार गर्नुहुन्छ भनेर उनीहरूमध्ये एक जनाले मलाई सोधे। मैले बिल्कुलै स्वीकार गर्दिनँ भनेँ। मैले केही आक्रोशित हुँदै जवाफ दिएकी थिएँ,’ उनले लेखेकी छन्। उनका अनुसार राहुल र प्रियङ्का दुवैले उनलाई प्रधानमन्त्री बनेको देख्न चाहेका थिएनन्। उनीहरू आफ्नी हजुरआमा इन्दिरा गान्धीको हत्या र पिता राजीव गान्धीको निर्मम हत्याबाट गुज्रिएका थिए। त्यसैले प्रधानमन्त्री पदमा पुग्दा आमाको सुरक्षामा खतरा बढ्न सक्ने उनीहरूको चिन्ता थियो।सोनियाले लेखेकी छन्, ‘उनीहरूलाई त्यस पदमा पुग्नु भनेको थप जोखिम निम्त्याउनु हो भन्ने लागेको थियो। उनीहरू राहत महसुस गरिरहेका थिए र म पनि हलुका भएकी थिएँ।’
गठबन्धनका नेताले दबाब दिएपछि अलमल
सोनिया गान्धीका अनुसार सन् २००४ को निर्वाचन परिणाम आएपछि प्रधानमन्त्री नबन्ने आफ्नो निर्णय कार्यान्वयन गर्न उनलाई सहज भएन। कांग्रेसका कार्यकर्ता र गठबन्धनका नेताहरूले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेका थिए। गठबन्धनका नेताहरूले भेटेर उनलाई निर्णय बदल्न मनाउने प्रयाससमेत गरेका थिए। उनले पुस्तकमा लेखेकी छन्, ‘गठबन्धनका नेताहरू मेरो घरको राजीवको सम्मेलन कक्षमा भेला भएका थिए। उनीहरूले मलाई प्रधानमन्त्री बन्न सहमत गराउने प्रयास गरिरहेका थिए। छलफल सकिएपछि मैले आफ्नो कुरा राख्न साहस जुटाएँ।’तर नेताहरूले उनको कुरा स्वीकार गरेनन्। उनीहरूले प्रधानमन्त्री पद अस्वीकार गर्ने निर्णय मान्न नसकिने भन्दै दबाब दिएका थिए।
सोनियाका अनुसार एक नेताले ‘हामी यो मान्दैनौँ’ भने भने अर्काले ‘म्याडम, तपाईं यस्तो निर्णय लिन सक्नुहुन्न’ भनेका थिए।
नेताहरूको आक्रामक व्यवहारबाट आफू विचलित भएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘मलाई कसैले दबाबमा पारेजस्तो लाग्यो। मैले बिस्तारै ठीक छ भनेँ।’ तर उनले आफ्नो भनाइ पूरा गर्न नपाउँदै नेताहरूले उनलाई बधाई दिन थाले। ‘उहाँ सहमत हुनुभयो, उहाँ सहमत हुनुभयो’ भन्दै नेताहरू त्यहाँबाट बाहिरिए।
राहुल किन आमासँग रिसाए ?
गठबन्धनका नेताहरूको दबाबपछि सोनियाले प्रधानमन्त्री बन्न सहमति जनाएको ठानेर नेताहरू बाहिरिएपछि राहुल गान्धी उनीसँग निकै रिसाएका थिए । सोनियाले पुस्तकमा लेखेकी छन्, ‘राहुलले रिसाउँदै सोधे– तपाईंले हुन्छ भन्नुभयो?’
मैले जवाफ दिएँ, ‘उनीहरू मेरो कुरा सुन्न तयार थिएनन्। म यो गर्न चाहन्नँ भन्ने तिमीलाई थाहा छ। ममाथि दबाब दिइएको थियो।’त्यसपछि राहुलले प्रश्न गरे, ‘तपाईंमाथि दबाब दिइँदै छ भने हाम्रो के?’यति भन्दै उनी रिसाएको अनुहार लिएर त्यहाँबाट बाहिरिएको सोनियाले उल्लेख गरेकी छन्।त्यसबेला छोरी प्रियङ्काले भने आमालाई आफ्नो निर्णयमा अडिग रहन सुझाव दिएकी थिइन्।
सोनियाका अनुसार प्रियङ्काले भनेकी थिइन्, ‘आमा, तपाईं यस विषयमा सधैँ स्पष्ट हुनुहुन्थ्यो। जबर्जस्ती नगर्नुहोस्। तपाईंले जे निर्णय गर्नुभएको छ, त्यही गर्नुहोस्।’प्रियङ्काका आँखा पनि रातो भएको र आफूलाई समेत रुन मन लागेको सोनियाले पुस्तकमा लेखेकी छन्।
प्रधानमन्त्री पद अस्वीकार गर्नुका पछाडि के थियो कारण ?
सोनियाले प्रधानमन्त्री पद अस्वीकार गर्नुको अर्को कारण राजनीतिक विवाद र आफ्नो विदेशी मूललाई लिएर उठ्न सक्ने विवाद पनि भएको उल्लेख गरेकी छन्। उनका अनुसार आफू प्रधानमन्त्री बनेको अवस्थामा भाजपा र उसका सहयोगीहरूले विदेशी मूलको विषयलाई थप उछाल्ने र राजनीतिक वातावरण बिगार्ने सम्भावना थियो। उनले लेखेकी छन्, ‘मैले प्रधानमन्त्री पद स्वीकार गरेको भए पनि उनीहरूले चुनावी अभियानका क्रममा उठाएका विषय र प्रचार बन्द हुने थिएनन्। भाजपाले मेरो विदेशी मूललाई मुद्दा बनाउने थियो। उनीहरूले भावनालाई भड्काउने र राजनीतिक उथलपुथल सिर्जना गर्ने थिए।’ उनले भारतलाई विभाजनकारी राजनीतिबाट टाढा राख्न सक्षम र बलियो सरकार आवश्यक रहेको पनि उल्लेख गरेकी छन्।सोनियाको निर्णयपछि सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए। त्यसपछि पनि विपक्षी दलहरूले सरकारको वास्तविक नेतृत्व सोनियाले नै गरिरहेको आरोप लगाउँदै आएका थिए।
सरकारी फाइल कहिल्यै हेरिनँ सोनिया
सोनियाले यूपीए सरकारको कार्यसम्पादनमा आफ्नो हस्तक्षेप नरहेको दाबी गरेकी छन्। हिन्दुस्तान टाइम्सका अनुसार उनले आफ्नो पुस्तकमा मनमोहन सिंहले सरकार सञ्चालन गर्ने र आफूले कांग्रेसको नेतृत्व गर्ने स्पष्ट जिम्मेवारी विभाजन रहेको उल्लेख गरेकी छन्।उनले आफूलाई कहिल्यै सरकारी फाइल नदेखाइएको र प्रधानमन्त्री कार्यालयबाट फाइल मगाएको भन्ने आरोप गलत तथा दुर्भावनापूर्ण रहेको बताएकी छन्।
सरकार गठनका क्रममा भने वर्षौंदेखि पार्टीमा काम गरेका नेताहरूको उचित व्यवस्थापन होस् भन्ने उद्देश्यले आफूले सुझाव दिएको उनले स्वीकार गरेकी छन्।त्यसबेला सोनिया यूपीएको अध्यक्ष हुनुका साथै राष्ट्रिय सल्लाहकार परिषद्को नेतृत्व पनि गरिरहेकी थिइन्। उक्त परिषद्ले सामाजिक तथा आर्थिक विकाससम्बन्धी नीति र कार्यक्रमबारे सरकारलाई सुझाव दिने काम गथ्र्यो।
प्रणव मुखर्जी प्रधानमन्त्री बन्न चाहन्थे ?
सोनियाले आफ्नो पुस्तकमा पूर्वराष्ट्रपति प्रणव मुखर्जीसँगको सम्बन्ध र उनको प्रधानमन्त्री बन्ने आकाङ्क्षाबारे पनि उल्लेख गरेकी छन्। हिन्दुस्तान टाइम्सका अनुसार सन् २००९ मा यूपीए पुनः सत्तामा आएको एक वर्षपछि अर्थात् सन् २०१० मा मुखर्जीले प्रधानमन्त्री परिवर्तन गर्ने समय आएको हुन सक्ने सुझाव दिएका थिए।सोनियाले लेखेकी छन्, ‘उनले शीर्ष नेतृत्वमा परिवर्तन गर्ने समय आएको हुन सक्ने सुझाव दिएर मलाई आश्चर्यचकित बनाए। मैले यसलाई प्रधानमन्त्री बन्ने उनको लामो समयदेखिको इच्छाको सङ्केतका रूपमा बुझेँ।’ उनले त्यस विषयमा थप छलफल नगरी प्रसङ्ग परिवर्तन गरेको र मुखर्जी निराश भए पनि आफूविरुद्ध कुनै असन्तुष्टि नदेखाएको उल्लेख गरेकी छन्। सोनिया गान्धीको नयाँ पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ मा भारतीय राजनीतिका महत्वपूर्ण घटनाक्रम, गान्धी परिवारका अनुभव र यूपीए सरकार गठन हुँदाका आन्तरिक राजनीतिक समीकरणबारे विभिन्न खुलासा गरिएको छ।
स्रोतः बीबीसी, हिन्दुस्तान टाइम्स र इन्डियन एक्सप्रेस

प्रतिक्रिया