सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी छ जना घाइते भएका थिए ।
घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी सात वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा साँझ ५ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी–३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार घाइते भएका छन् ।
त्यस्तै, साइकलयात्री इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन् । घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया