हिन्दू हुनु गौरव हो


–डा. गोविन्दशरण उपाध्याय

१. वैदिक सनातन संस्कृति, नेपाली पहिचान र युवापुस्ताको सांस्कृतिक उत्तरदायित्व

मानिस आफ्नो जन्मको निर्णय गरेर संसारमा आउँदैन । उसले जन्मनुअघि आफ्नो देश, भूगोल, परिवार, मातृभाषा, धर्म वा संस्कृतिको छनोट गरेको हुँदैन । कुन आमाको काखमा जन्मने, कुन भाषामा पहिलो शब्द उच्चारण गर्ने र कुन समाजको स्नेहमा हुर्कने भन्ने कुरा उसको इच्छाले निर्धारण गर्दैन । तर चेतनशील भएपछि आफ्नो धर्म मान्ने वा नमान्ने, विश्वास परिवर्तन गर्ने अथवा कुनै पनि धार्मिक मान्यता स्वीकार नगर्ने अधिकार प्रत्येक व्यक्तिसँग हुन्छ । यही स्वतन्त्रता मानव गरिमाको आधार हो । तथापि, जन्म र हुर्काइले प्रदान गरेको सांस्कृतिक अनुभूति एउटा निर्णयले इतिहासबाट मेटिँदैन । बाल्यकालमा सुनेको प्रार्थना, हजुरआमाले सुनाएको रामायणको कथा, आमाले सिकाएको नमस्कार, दशैँको टीका, तिहारको दीपमाला, जनैपूर्णिमाको डोरो, गाउँको कुलपूजा तथा घरको आँगनमा हुर्केको तुलसीको बिरुवा केवल धार्मिक चिह्न होइनन्, ती व्यक्तिको जीवनसँग जोडिएका सांस्कृतिक स्मृति पनि हुन् । तीसँग असहमत हुने स्वतन्त्रता छ, तर तिनको ऐतिहासिक अस्तित्व अस्वीकार गरेर आफ्नो जीवनको सम्पूर्ण परिचय बुझ्न सकिँदैन । त्यसैले आफ्नो सांस्कृतिक उद्गम चिन्नु कसैप्रति घृणा गर्नु होइन, आफू कहाँबाट आएको हुँ भन्ने प्रश्नको सचेत उत्तर खोज्नु हो । हिन्दू हुनुको गौरव यही आत्मपहिचानबाट आरम्भ हुन्छ ।

नेपालका गाउँबस्तीहरूमा यस सांस्कृतिक पहिचानका जीवन्त उदाहरणहरू पाइन्छन् । काठमाडौँको एउटा परिवारले बिहान पशुपतिनाथको स्मरण गर्छ, जनकपुरको अर्को परिवारले जानकी माताको आराधना गर्छ, गोरखाको परिवार मनकामना भगवतीप्रति श्रद्धा राख्छ र सुदूरपश्चिमको परिवार गौरा पर्वमा शिवपार्वतीको उपासना गर्छ । भक्तपुरको नेवार परिवारले आफ्नो परम्पराअनुसार म्हपूजा मनाउँछ, मिथिलाको परिवारले विवाहपञ्चमीमा रामजानकीको विवाहोत्सव स्मरण गर्छ र रसुवाको परिवारले जनैपूर्णिमामा गोसाइँकुण्ड यात्राको महत्त्व सम्झन्छ । यी सबैको धार्मिक तथा सांस्कृतिक व्यवहार एउटै छैन । तर भिन्न परम्पराहरूलाई समेट्ने एउटा व्यापक सभ्यतागत सम्बन्ध अवश्य छ । नेपाली हिन्दुहरूको विशेषता यही विविधतामा छ । संस्कृति एउटा निश्चित पोसाक, एउटै भाषा वा एउटै पूजाविधिमा सीमित हुँदैन । नेपालमा हिन्दू , बौद्ध, किरात, मुस्लिम, इसाई तथा अन्य सांस्कृतिक समुदायहरू आआफ्ना पहिचानसहित रहेका छन् । उनीहरूको स्वतन्त्र अस्तित्वको सम्मान गर्दै आफ्नो वैदिक सनातन पहिचानप्रति गौरव गर्नु नै परिपक्व सांस्कृतिक चेतना हो । साथै, हिन्दूधर्म र समुदाय विरुद्ध फैलाइने घृणावादीहरूको बौद्धिक र आवश्यकता परे भौतिक प्रतिकारका लागि तयार रहनु पनि सांस्कृतिक गौरवको प्रतिक हो ।

२. वेद, संस्कृत र हाम्रो ज्ञानपरम्परा

वैदिक सनातन धर्मको ज्ञानपरम्पराको मूलमा वेद र संस्कृत भाषाको विशिष्ट स्थान छ । वेद केवल पूजा गर्ने बेलामा उच्चारण गरिने मन्त्रहरूको सङ्ग्रह होइनन् अपितु तिनमा प्रकृति, जगत्, देवत्व, जीवन, प्रार्थना, कर्तव्य र मानवीय जिज्ञासाका अनेक रूप अभिव्यक्त भएका छन् । संस्कृत भाषा केवल प्राचीन शब्दहरूको भण्डार होइन, यो दर्शन, व्याकरण, साहित्य, तर्क, ज्ञान-विज्ञान, योग र अध्यात्मसम्बन्धी विशाल ज्ञानपरम्पराको सशक्त माध्यम हो । उपनिषद्, भगवद्गीता, रामायण, महाभारत, पुराण, आगम, तन्त्र तथा विभिन्न दर्शनशास्त्रहरूले वैदिक संस्कृतिलाई थप समृद्ध बनाएका छन् । नेपाल स्वयं यस ज्ञानपरम्पराको महत्त्वपूर्ण साधनास्थल रहिआएको छ । पशुपतिनाथका धार्मिक परम्परा, जनकपुरको मिथिला सभ्यता, मुक्तिनाथको तीर्थपरम्परा, देवघाटको धार्मिक वातावरण र काठमाडौँ उपत्यकाका प्राचीन मठमन्दिर यसका जीवन्त साक्षी हुन् । संस्कृतका अनेक ग्रन्थ, पाण्डुलिपि र परम्परागत अध्ययनपद्धति नेपाली मठ, पुस्तकालय तथा विद्वत् परिवारमा संरक्षण हुँदै आएका छन् । यी सम्पदालाई चिन्ने युवाले आफ्नो परिचय केवल एउटा धार्मिक नाममा सीमित छैन भन्ने बुझ्छ । हिन्दू हुनु भनेको विशाल ज्ञानसंवादको उत्तराधिकारी हुनु पनि हो ।

हिन्दू युवाहरूले सम्झनुपर्ने कुरा के हो भने वैदिक परम्परा प्रश्नबाट डराएर विकसित भएको परम्परा होइन । नचिकेताले मृत्यु र आत्माको रहस्य सोधे, गार्गीले ब्रह्मसम्बन्धी गम्भीर प्रश्न उठाइन्, याज्ञवल्क्यले कठिन दार्शनिक जिज्ञासासँग संवाद गरे । न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्तका आचार्यहरूले सत्यसम्बन्धी प्रश्नलाई फरक विधिबाट विवेचना गरे । नेपालमा पनि परम्परागत गुरुकुल, संस्कृत पाठशाला, विद्यापीठ तथा आधुनिक विश्वविद्यालयहरूमा यस्ता विषयहरूको अध्ययन गरिन्छ । काठमाडौँको वाल्मीकि विद्यापीठ, दाङको नेपाल संस्कृत विश्वविद्यालय, देवघाट लगायतका तीर्थस्थलमा संचालित विभिन्न गुरुकुलहरू यस शैक्षिक निरन्तरतासँग सम्बन्धित छन् । तर प्रश्न उठ्छ-हाम्रा युवाहरूले यी ज्ञानकेन्द्र र ग्रन्थहरूको महत्त्व कति बुझेका छन् ? संस्कृतको एउटा श्लोक नबुझीकन संस्कृतको आलोचना गर्नु वा एउटा उपनिषद् नपढीकन सम्पूर्ण वैदिक दर्शनलाई अस्वीकार गर्नु बौद्धिक परिपक्वता होइन । त्यस्तै आफ्ना शास्त्रहरू अध्ययन नगरी तिनका नाममा अवैज्ञानिक दाबी गर्नु पनि विवेकसम्मत हुँदैन । त्यसैले अध्ययन गरौँ, प्रश्न गरौँ, प्रमाण खोजौँ र आफ्नो ज्ञानपरम्पराको गम्भीरता बुझौँ । अध्ययनबाट प्राप्त आत्मविश्वास नै वास्तविक सांस्कृतिक गौरव हो ।

३. बहुलतावाद हाम्रो मौलिक शक्ति हो

हिन्दू धर्मको एउटा असाधारण विशेषता विविधताभित्र एकता कायम राख्ने सामर्थ्य हो । यहाँ उपास्य देवताको नाम फरक हुन सक्छ, मन्त्र फरक हुन सक्छ, दर्शन फरक हुन सक्छ र धार्मिक आचरणको शैली पनि फरक हुन सक्छ । कसैले शिवलाई आराध्य मान्छ, कसैले विष्णु वा कृष्णलाई इष्टदेव स्वीकार गर्छ, कसैले भगवतीको उपासना गर्छ र कसैले निराकार ब्रह्मको चिन्तन गर्छ । ऋग्वेदको ‘एकं सद्विप्रा बहुधा वदन्ति’ (१.१६४.४६) भन्ने प्रसिद्ध अभिव्यक्तिले सत्यका विविध नाम र अभिव्यक्तिको सम्भावनातर्फ सङ्केत गर्छ । नेपालमै हेरौँ-पशुपतिनाथमा शिवभक्तहरूको आस्था केन्द्रित हुन्छ, जनकपुरमा रामजानकीको महिमा गाइन्छ, गोरखामा मनकामना भगवतीको पूजा हुन्छ र प्युठानको स्वर्गद्वारीमा वैदिक यज्ञपरम्परा जीवित छ । यी स्थानहरूका उपासना र धार्मिक आचार फरक छन्, तर फरक हुँदैमा एउटा तीर्थको महत्त्व स्वीकार गर्नेले अर्को तीर्थलाई अस्वीकार गर्नुपर्ने बाध्यता छैन । यही व्यापकता हाम्रो बल हो । आफ्नो इष्टदेवप्रति अटुट निष्ठा राख्दै अरूका उपासना परम्परालाई सम्मान गर्न सक्नु हिन्दु चेतनाको मूल्यवान् विशेषता हो ।

हाम्रो बहुलतावादी संस्कृतिको एउटा सुन्दर उदाहरण मुस्ताङको मुक्तिनाथ हो । हिन्दुहरू यसलाई भगवान् विष्णुको पवित्र तीर्थ मान्छन् भने बौद्ध धर्मावलम्बीहरूले पनि यस क्षेत्रलाई आफ्नै आध्यात्मिक परम्पराअनुसार महत्त्व दिन्छन् । एउटै तीर्थक्षेत्रसँग फरक समुदायका धार्मिक अनुभूति जोडिन सक्छन् भन्ने कुरा यहाँ देखिन्छ । त्यसरी नै ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रासँग हिन्दू तथा बौद्ध दुवै समुदायका ऐतिहासिक श्रद्धा र परम्पराहरू सम्बन्धित छन् । काठमाडौँ उपत्यकाका कतिपय धार्मिक उत्सवमा विभिन्न समुदायले आआफ्ना मान्यताअनुसार सहभागिता जनाउँछन् । यो केवल सांस्कृतिक विविधता होइन, सहअस्तित्वको व्यावहारिक अभ्यास पनि हो । यसको अर्थ सबै धर्म वा दर्शन एउटै हुन् भन्ने होइन । तिनीहरूका सिद्धान्त, साधना र अन्तिम लक्ष्यबारे महत्त्वपूर्ण भिन्नता छन् । तर भिन्नता स्वीकार गर्नु र शत्रुता पाल्नु एउटै कुरा होइन । वैदिक सनातन संस्कृतिमा गौरव गर्ने युवाले यो अन्तर बुझ्नुपर्छ । आफ्नो आस्था बलियो बनाउनु र अर्काको अस्तित्व स्वीकार गर्नु एकअर्काका विरोधी कुरा होइनन् ।

४. नेपाली चाडपर्व हाम्रो सभ्यताका जीवन्त विश्वविद्यालय हुन्

हिन्दूहरूका चाडपर्वको सङ्ख्या ठूलो छ । हाम्रा पर्वहरू केवल मनोरञ्जनका अवसर होइनन् अपितु परिवार, समाज, प्रकृति र आध्यात्मिक जीवनलाई जोड्ने सांस्कृतिक माध्यम हुन् । दशैँले शक्तिको उपासना, पारिवारिक पुनर्मिलन र आशीर्वादको परम्परा स्मरण गराउँछ । तिहारले प्रकाश, कृतज्ञता, पारिवारिक सम्बन्ध र उत्सवलाई जोड्छ । छठले सूर्य, जल, अनुशासन र प्रकृतिप्रतिको श्रद्धालाई सार्वजनिक अभिव्यक्ति दिन्छ । रामनवमी, कृष्णजन्माष्टमी, शिवरात्रि, जनैपूर्णिमा, नवरात्र र अन्य अनेक पर्वहरूले जीवनका फरक पक्षलाई सम्बोधन गर्छन् । तर नेपालमा यी पर्वको स्वरूप एउटै छैन । काठमाडौँमा तिहारको समयमा म्हपूजाको विशेष महत्त्व छ । तराईमा छठको अवसरमा नदी, पोखरी तथा घाटहरू श्रद्धालुहरूले भरिन्छन् । सुदूरपश्चिममा गौरा पर्वले स्थानीय सांस्कृतिक जीवनलाई विशेष उत्साह प्रदान गर्छ । यस्ता पर्वले मानिसलाई आफ्नो परिवार मात्र होइन, आफ्नो समुदाय, इतिहास र भूगोलसँग पनि जोड्छन् । आफ्नो संस्कृतिमा गौरव गर्नुको अर्थ यी परम्परालाई अन्धअनुकरण गर्नु होइन, तिनको सामाजिक र आध्यात्मिक अर्थ बुझ्नु हो ।

जनकपुरको विवाहपञ्चमीलाई उदाहरणका रूपमा लिऔँ । यहाँ राम र सीताको विवाहसँग सम्बन्धित धार्मिक स्मृतिलाई उत्सवका रूपमा मनाइन्छ । मिथिलाका गीत, परम्परागत विधि, स्थानीय भाषा र सामुदायिक सहभागिताले यस उत्सवलाई विशिष्ट पहिचान प्रदान गर्छन् । काठमाडौँ उपत्यकाको इन्द्रजात्रा र भक्तपुरको बिस्केट जात्राको सांस्कृतिक स्वरूप फरक छ । इन्द्रजात्रामा कुमारी, लाखे तथा अन्य परम्परागत प्रस्तुतिहरूले उपत्यकाको सांस्कृतिक इतिहासलाई जीवन्त राख्छन् । भक्तपुरको बिस्केट जात्रा रथयात्रा तथा स्थानीय अनुष्ठानका कारण प्रसिद्ध छ । सुदूरपश्चिमको गौरा पर्वमा शिवपार्वतीसँग सम्बन्धित श्रद्धा, लोकगीत र देउडा संस्कृतिको विशेष स्थान छ । यी सबै पर्व एउटै शास्त्रीय विधिमा आधारित छैनन्, न त सबैको ऐतिहासिक विकास एउटै ढङ्गले भएको हो । तर तिनले हिन्दू धार्मिक तथा नेपाली सांस्कृतिक जीवनभित्र विविध अभिव्यक्तिहरूलाई स्थान दिएका छन् । यही तथ्य बुझ्ने युवाले पर्वको बाहिरी स्वरूप मात्र होइन, त्यसमा निहित सामाजिक एकताको महत्त्व पनि अनुभव गर्छ ।

पहाड र हिमाली क्षेत्रका तीर्थ तथा पर्वहरूमा पनि हाम्रो सांस्कृतिक विविधता देखिन्छ । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा तीर्थयात्रीहरू पुग्छन् । पशुपतिनाथ क्षेत्रमा बालाचतुर्दशीमा सतबीज छर्ने परम्परा छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमक्षेत्र देवघाटमा माघे सङ्क्रान्तिको धार्मिक महत्त्व छ । ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसी र गोरखाको मनकामना विभिन्न समुदायका श्रद्धालुहरूको आस्थासँग जोडिएका छन् । आधुनिक राजनैतिक भारतका तीर्थहरूको कुरा त छंदैछ । यी स्थानहरू केवल पूजा गर्ने स्थल होइनन् अपितु स्थानीय इतिहास, लोकविश्वास, यात्रा, सेवा, अतिथि सत्कार र सामुदायिक सम्बन्धसँग पनि गाँसिएका छन् । कुनै युवाले आफ्नो जिल्लाको मन्दिरको इतिहास, स्थानीय जात्राको उत्पत्ति, पूजाविधिको अर्थ र त्यससँग जोडिएका लोककथा बुझ्न खोज्यो भने उसले एउटा जीवित सांस्कृतिक पुस्तक अध्ययन गरिरहेको हुन्छ । संस्कृतिको वास्तविक शिक्षा यस्ता अभ्यासबाट पनि प्राप्त हुन्छ । किताबमा लेखिएको ज्ञान र समाजमा जीवित ज्ञान एकअर्काका पूरक हुन् ।

५. आफ्नो धर्मप्रति गौरव गर्नु कसैको अपमान होइन

धर्म मान्ने वा नमान्ने विषय व्यक्तिगत स्वतन्त्रताको विषय हो । स्वेच्छाले धर्मपरिवर्तन गर्नु पनि व्यक्तिको अन्तःकरणसँग सम्बन्धित अधिकार हो । तर कसैले आफ्नो आस्था परिवर्तन गर्दैमा उसले हुर्केको समाजको सम्पूर्ण सांस्कृतिक इतिहास परिवर्तन हुँदैन । उदाहरणका लागि नेपालको कुनै परिवारका सदस्यहरू विभिन्न धर्म वा दर्शन मान्ने हुन सक्छन् । उनीहरूको वर्तमान धार्मिक पहिचान फरक भए पनि उनीहरूले बोलेको मातृभाषा, बाल्यकालका सामाजिक अनुभव, पारिवारिक सम्बन्ध र स्थानीय संस्कृतिका कतिपय स्मृतिहरू साझा हुन सक्छन् । यसरी धार्मिक पहिचान र सांस्कृतिक इतिहासबीच सम्बन्ध भए पनि ती सधैँ समान हुँदैनन् । आफ्नो वर्तमान धर्म रोज्ने व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै उसको सांस्कृतिक इतिहासको बहुआयामिक स्वरूप बुझ्न सकिन्छ । त्यसैले हिन्दु संस्कृतिमा जन्मेर अर्को धर्म स्वीकार गर्ने व्यक्तिले पनि वैदिक ज्ञान, नेपाली परम्परा र ऐतिहासिक सम्पदाको महत्त्वलाई निष्पक्ष रूपमा बुझ्न सक्छ । त्यसरी नै जन्मबाट हिन्दु भएर पनि धर्म नमान्ने व्यक्तिले आफ्नो पारिवारिक सांस्कृतिक इतिहासको अध्ययन गर्न सक्छ । सांस्कृतिक गौरव कसैको स्वतन्त्रता निषेध गर्ने अधिकार होइन; आफ्नो इतिहाससँग सार्थक सम्बन्ध कायम गर्ने चेतना हो ।

आज सामाजिक सञ्जालमा हिन्दु धर्म, संस्कार, पुरोहित परम्परा, चाडपर्व तथा धार्मिक विश्वासहरूबारे अनेक घृणावादी टिप्पणी देखिन्छन् । कतिपय आलोचना अध्ययन, सामाजिक अनुभव तथा सुधारको चाहनाबाट प्रेरित हुन्छन् भने कतिपय अभिव्यक्तिमा पूर्वाग्रह र अपमानजनक भाषा पनि भेटिन्छ । विभिन्न राजनीतिक नेता, वामपन्थी विचारक, पहिचानवादी अभियन्ता, धर्मान्तरित व्यक्ति वा नवबौद्ध चिन्तकहरूले हिन्दू परम्परासम्बन्धमा अत्यन्त आपत्कोतिजनक घृणावादी दृष्टिकोण राखेको देखिन्छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पुष्पकमल दाहालजस्ता सार्वजनिक व्यक्तित्वहरू र केही आदिवासी-जनजाती, नबबौद्ध तथा धर्मपरिवर्तन गरेका तर आफुलाई अझैं पनि दलितकै श्रेणीमा राख्ने इसाईहरू वैदिक धार्मिक तथा सांस्कृतिक जीवनप्रति प्रत्यक्ष रूपमा आलोचनामा सङ्लग्न हुनु देश र समाजका लागि हितकर होइन । यहाँ हामीले बुझ्नुपर्छ कि वैचारिक असहमति राख्नु र कसैप्रति घृणा फैलाउनु एउटै कुरा होइन । यस्तो अवस्थामा हिन्दू अगुवाहरूले स्वस्फूर्त तवरमा उपरोक्त घृणावादीहरू ज्ञान, प्रमाण र तर्कले उत्तर दिनुपर्छ । शास्त्रबारे प्रश्न उठे शास्त्रको अध्ययन गरेर उत्तर दिनुपर्छ । इतिहासबारे प्रश्न उठे ऐतिहासिक प्रमाण प्रस्तुत गर्नुपर्छ र परम्पराबारे भ्रम फैलाइए त्यसको वास्तविक स्वरूप स्पष्ट गर्नुपर्छ । आफ्नो सांस्कृतिक अधिकारको रक्षा गर्ने क्रममा अन्य समुदायप्रति अन्याय गर्नु हुँदैन । हिन्दू युवाको वास्तविक शक्ति गालीमा होइन, ज्ञानमा; आक्रोशमा होइन, विवेकमा; अपमानमा होइन, आत्मसम्मानमा प्रकट हुनुपर्छ ।

नेपालको सामाजिक जीवनमा धार्मिक सहअस्तित्वका अनेक सकारात्मक उदाहरण भेटिन्छन् । काठमाडौँका कतिपय बस्तीमा हिन्दू र बौद्ध परिवारहरू पुस्तौँदेखि आआफ्ना परम्परासहित बस्दै आएका छन् । तराईका नेपालगञ्ज, वीरगञ्ज र विराटनगरजस्ता सहरमा विभिन्न धार्मिक समुदायका नागरिकहरूको साझा व्यापारिक, शैक्षिक तथा सामाजिक जीवन छ । यस प्रकारको सहअस्तित्वलाई अझ सुदृढ बनाउनु सबै नागरिकको साझा जिम्मेवारी हो । बहुसङ्ख्यक हिन्दु भएको समाजमा अल्पसङ्ख्यक समुदाय सुरक्षित हुनु सभ्यताको परिचायक हो । त्यस्तै हिन्दुहरू अल्पसङ्ख्यक भएका देशमा उनीहरूको मन्दिर, पूजा, पर्व तथा धार्मिक स्वतन्त्रता सुरक्षित हुनुपर्छ । संसारका विभिन्न मुस्लिम तथा देशमा धार्मिक स्वतन्त्रताको अवस्था समान छैन । कतिपय स्थानमा कानुनी तथा व्यावहारिक प्रतिबन्धहरू छन् । यस्तो असमानताका विषयमा हिन्दूहरूले दृढतापूर्वक बोल्नुपर्छ, तर तथ्य र न्यायलाई आधार बनाउनुपर्छ । हामीले आफ्नो धार्मिक स्वतन्त्रताका लागि माग्ने अधिकार अरूलाई पनि दिन तयार हुनुपर्छ । आधुनिक लोकतान्त्रिक समाजले स्थापित गर्न खोजेको सहअस्तित्व र नागरिक समानताको आदर्श पनि यही हो ।

६. हिन्दू संस्कृतिको रक्षा व्यवहारबाट आरम्भ हुन्छ

आफ्नो धर्मको गौरव गर्ने मानिसको व्यवहारमा पनि त्यो गौरव देखिनुपर्छ । बिहान पशुपतिनाथको दर्शन गरेर कार्यालयमा सेवाग्राहीसँग अन्याय गर्ने व्यक्ति धर्मको वास्तविक प्रतिनिधि बन्न सक्दैन । घरमा भगवद्गीता राखेर परिवारका कमजोर सदस्यलाई अपमान गर्ने, देवीको पूजा गरेर महिलाको सम्मान नगर्ने, मन्दिरमा दान गरेर सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने वा तीर्थयात्रा गरेर फर्किएपछि अरूको अधिकार हनन गर्ने मानिसले धर्मको गहिरो अर्थ बुझेको मान्न सकिँदैन । हिन्दू धर्मका नैतिक आदर्शहरू सत्य, अहिंसा, दया, संयम, दान, कर्तव्य तथा आत्मानुशासनसँग सम्बन्धित छन् । यी मूल्यलाई दैनिक व्यवहारमा उतार्नु नै सांस्कृतिक गौरवको प्रभावशाली अभिव्यक्ति हो । गाउँमा कुनै वृद्ध व्यक्ति असहाय छन् भने सहयोग गर्नु, विपन्न बालबालिकाको शिक्षामा योगदान गर्नु, सार्वजनिक धारा तथा मन्दिरक्षेत्र सफा राख्नु र प्राकृतिक स्रोत संरक्षण गर्नु सामाजिक जिम्मेवारीका उदाहरण हुन् । धार्मिक पहिचान केवल चिह्नले होइन, चरित्रले पनि प्रमाणित हुन्छ । धर्मको वास्तविक सम्मान त्यसका उच्च मानवीय आदर्शलाई व्यवहारमा उतार्दा हुन्छ ।

नेपाली समाजमा धर्म र सेवाबीचको सम्बन्धका अनेक उदाहरण छन् । मन्दिरका धर्मशाला, यात्रुहरूका लागि बनाइएका पाटीपौवा, पानीका धारा, सार्वजनिक विश्रामस्थल तथा सामुदायिक अन्नदानका परम्पराहरूले धार्मिक प्रेरणा र सामाजिक सेवाको सम्बन्ध देखाउँछन् । काठमाडौँ उपत्यकाका प्राचीन हिती अर्थात् ढुङ्गेधारा, गाउँघरका चौतारा र तीर्थस्थलमा यात्रुहरूका लागि विकास गरिएका सुविधाहरू हाम्रो सामाजिक इतिहासका महत्त्वपूर्ण अंग हुन् । यी संरचनाको निर्माणमा धार्मिक, सामुदायिक र स्थानीय परोपकारी प्रेरणाहरू जोडिएका थिए । आजका युवाहरूले यस्ता सम्पदालाई केवल पुरानो इतिहास मानेर छोड्नु हुँदैन । आफ्नो टोलको मन्दिर सफा राख्ने, स्थानीय संस्कृतिको अभिलेखीकरण गर्ने, नदी तथा तीर्थक्षेत्रमा फोहोर नफाल्ने, सार्वजनिक सम्पदाको रक्षा गर्ने र वृद्ध पुस्ताबाट परम्परागत ज्ञान सङ्कलन गर्ने कार्यहरू पनि धर्मसंस्कृतिको संरक्षण हुन् । श्रद्धाले संरक्षणको भावना जन्माउनुपर्छ; संरक्षणले सामुदायिक जिम्मेवारी बढाउनुपर्छ । यही चेतनाले धार्मिक सम्पदालाई भविष्यका पुस्तासम्म पुर्‍याउँछ ।

७. युवापुस्तालाई विशेष आग्रह

आजको हिन्दू युवापुस्तासँग अभूतपूर्व अवसर छ । इन्टरनेट, डिजिटल पुस्तकालय, विश्वविद्यालय, गुरुकुल, अनुसन्धानसंस्था तथा आधुनिक प्रविधिका माध्यमबाट आफ्नो परम्पराको व्यवस्थित अध्ययन गर्न सकिन्छ । तर दुर्भाग्यवश, कतिपय युवाहरूले हिन्दू धर्मबारे आफ्नो धारणा केही छोटा भिडियो, सामाजिक सञ्जालका टिप्पणी र अपूर्ण उद्धरणका आधारमा निर्माण गर्छन् । एउटा श्लोकको अर्थ नबुझीकन त्यसका विषयमा विवाद गर्ने, कुनै चाडको ऐतिहासिक पृष्ठभूमि नजानी त्यसलाई तुच्छ ठान्ने वा एउटा धार्मिक घटनाका आधारमा सम्पूर्ण परम्पराको मूल्याङ्कन गर्ने प्रवृत्तिले बौद्धिक विकास गर्दैन । युवाहरूले भगवद्गीता पढून्, उपनिषद्का प्रमुख विचार बुझून्, रामायण तथा महाभारतका नैतिक प्रश्नमा चिन्तन गरून् र नेपाली लोकसंस्कृतिसँग सम्बन्धित विश्वसनीय अध्ययन सामग्री खोजून् । संस्कृत सिक्ने प्रयास गरून् र आफ्ना मातृभाषा र क्षेत्रीय संस्कृतिको पनि सम्मान गरून् । आफ्ना पुर्खाले जोगाएका पाण्डुलिपि, मन्दिर, पर्व, परम्परा र कलाको ऐतिहासिक मूल्य बुझून् । ज्ञानबिना गरिएको गौरव क्षणिक उत्तेजना हुन सक्छ तर अध्ययनमा आधारित गौरव दीर्घकालीन आत्मविश्वास बन्छ ।

नेपालका युवाहरूका लागि सांस्कृतिक अध्ययन आफ्नै गाउँबाट सुरु हुन सक्छ । काठमाडौँका युवाले पशुपतिनाथ, चाँगुनारायण र हनुमानढोकाका धार्मिक तथा ऐतिहासिक पक्ष अध्ययन गर्न सक्छन् । भक्तपुरका युवाले बिस्केट जात्रा र स्थानीय मन्दिरका परम्पराहरूको अभिलेख तयार गर्न सक्छन् । जनकपुरका युवाले मिथिला चित्रकला, रामजानकी विवाहोत्सव र मैथिली भाषाका धार्मिक साहित्यको अध्ययन गर्न सक्छन् । सुदूरपश्चिमका युवाले गौरा पर्वका गीत, कथा र विधिको संरक्षण गर्न सक्छन् । गण्डकी क्षेत्रका युवाले मुक्तिनाथ तथा मनकामनासँग सम्बन्धित परम्पराहरूको अध्ययन गर्न सक्छन् । कर्णालीका युवाले स्थानीय देवस्थल, लोकगाथा र परम्परागत सांस्कृतिक ज्ञानको सङ्कलन गर्न सक्छन् । यस्ता गतिविधिले स्थानीय पहिचानलाई बलियो बनाउँछन् । एउटा पुस्ताले आफ्नो संस्कृतिलाई केवल मनाएर मात्र जोगाउँदैन बरू त्यसको अर्थ बुझेर, अभिलेख राखेर र अर्को पुस्तालाई हस्तान्तरण गरेर जोगाउँछ । आफ्नो गाउँको इतिहास नचिन्ने युवाले विश्वको इतिहास पढे पनि आफ्नै पहिचानका महत्त्वपूर्ण पाना छुटाउन सक्छ ।

हिन्दू संस्कृतिप्रति गौरव गर्ने युवाले विशेष रूपमा एउटा कुरा मनन गर्नुपर्छ-संस्कृति केवल जोगाएर पुग्दैन, त्यसलाई जीवनोपयोगी पनि बनाउनुपर्छ । आजका युवालाई शिक्षा, रोजगारी, सामाजिक न्याय, वातावरणीय सङ्कट, मानसिक स्वास्थ्य, प्रविधि र मानवीय सम्बन्धका अनेक चुनौती छन् । यस्ता चुनौतीसँग संवाद गर्न सक्ने सांस्कृतिक चिन्तन आवश्यक छ । गीताको कर्तव्यबोधलाई व्यावसायिक इमानदारीसँग जोड्न सकिन्छ भने योगको अनुशासनलाई स्वस्थ जीवनशैलीसँग सम्बन्धित गर्न सकिन्छ तथा उपनिषद्को आत्मचिन्तनलाई जीवनको अर्थसम्बन्धी दार्शनिक प्रश्नसँग जोड्न सकिन्छ र यसैगरी दान र सेवाका मूल्यलाई आधुनिक सामाजिक उत्तरदायित्वसँग सम्बन्धित गर्न सकिन्छ । परम्पराका विचारहरूको आधुनिक उपयोगिता विवेकपूर्ण रूपमा परीक्षण गर्नुपर्छ । विज्ञानका उपलब्धिलाई अस्वीकार नगरी, आधुनिक ज्ञानलाई शत्रु नठानी र आफ्नो धार्मिक आस्थालाई लुकाउनुपर्ने हीनभावना नराखी जीवन अघि बढाउनु आवश्यक छ । हामीले चाहेको हिन्दू युवा अतीतमा मात्र बाँच्ने व्यक्ति होइन तर आफ्नो ज्ञानपरम्पराबाट प्रेरणा लिएर वर्तमानका चुनौती सामना गर्ने र भविष्य निर्माण गर्ने जिम्मेवार नागरिक हो ।

८. हिन्दू हुनु गौरव हो, गौरव जोगाउनु जिम्मेवारी हो

अन्ततः हिन्दू हुनु गौरव हो भन्नुको अर्थ अरू धर्मका अनुयायीहरूलाई होच्याउनु होइन । यसको अर्थ आफ्नो धर्म, संस्कृति र परम्परालाई लाजको विषय नठान्नु हो । यसको अर्थ आफ्ना पूर्वजहरूको ज्ञानप्रति श्रद्धा राख्नु, आफ्ना शास्त्रहरूको अध्ययन गर्नु, आफ्ना पर्वहरूको अर्थ बुझ्नु, आफ्ना तीर्थस्थलहरूको संरक्षण गर्नु र आफ्नो धार्मिक स्वतन्त्रताप्रति सचेत रहनु हो । पशुपतिनाथको आराधना गर्ने हिन्दु, जनकपुरमा रामजानकीको उत्सव मनाउने हिन्दु, भक्तपुरमा परम्परागत जात्रामा सहभागी हुने हिन्दू, सुदूरपश्चिममा गौरा पर्व मनाउने हिन्दू तथा हिमाली क्षेत्रमा आफ्ना विशिष्ट संस्कार पालन गर्ने हिन्दुहरूका अभ्यास फरक हुन सक्छन् । तर तिनका भिन्नताहरूलाई परस्पर सम्मान गर्दै व्यापक सांस्कृतिक सम्बन्ध विकसित गर्नु हाम्रो शक्ति हो । नेपालका विभिन्न समुदायका सांस्कृतिक योगदानलाई स्वीकार गर्दा हिन्दू पहिचान कमजोर हुँदैन; बरु आफ्नो सभ्यतालाई विवेकपूर्ण रूपमा बुझ्ने क्षमता बढ्छ । हामीले आफ्ना मान्यताबारे स्पष्ट र आत्मविश्वासपूर्ण रूपमा बोल्नुपर्छ । त्यसो गर्न अरूको अपमान आवश्यक छैन ।

हे युवाहरू, आफ्नो परिचय अरूले लेखेका टिप्पणीका आधारमा मात्र निर्धारण हुन नदेऊ । तिमीले आफ्नो जन्मभूमि छान्न सकेनौ, तर त्यसबाट प्राप्त संस्कृतिलाई कसरी बुझ्ने र कस्तो भविष्य दिने भन्ने निर्णय तिम्रो हातमा छ । तिमी काठमाडौँको पशुपतिक्षेत्रमा जन्मेका हौ वा जनकपुरको मिथिलामा, गोरखाको पहाडमा हुर्केका हौ वा सुदूरपश्चिमको गाउँमा, आफ्नो धार्मिक तथा सांस्कृतिक उत्तराधिकारको अध्ययन गर्ने अधिकार र जिम्मेवारी तिम्रै हो । आफ्नो घरमा प्रज्वलित दीपको अर्थ बुझ, आफ्ना पर्वहरूका कथा सुन, आफ्ना मठमन्दिरका इतिहास पढ, आफ्ना मातृभाषाको सम्मान गर र आफ्ना शास्त्रहरूको अध्ययन गर । आफ्नो परम्पराप्रति श्रद्धा राख, तर विवेक नछोड । अरूको आस्थालाई सम्मान गर, तर आफ्नो आस्थाप्रति हीनभावना नराख । आलोचनाको उत्तर ज्ञानले देऊ, अपमानको उत्तर आत्मसम्मानले देऊ तथा आफ्नो समाजका कमजोरीलाई सुधार्ने साहस राख । किनकि वास्तविक गौरव केवल अतीतका उपलब्धि सम्झनु होइन, ती उपलब्धिले प्रस्तुत गरेका उच्च मानवीय आदर्शलाई आजको जीवनमा उतार्नु हो ।

गर्वका साथ भनौँ-हामी वैदिक सनातन ज्ञानपरम्पराका उत्तराधिकारी हौँ । हामी आफ्नो धर्मलाई प्रेम गर्छौँ, आफ्नो संस्कृतिलाई सम्मान गर्छौँ, आफ्ना परम्पराहरूको संरक्षण गर्छौँ र अरूको अस्तित्व तथा स्वतन्त्रतालाई पनि आदर गर्छौँ । हामीलाई आफ्नो पहिचान लुकाउनुपर्ने कुनै कारण छैन । हामी आफ्नो धर्म-संस्कृतिप्रति निष्ठावान् छौँ, आफ्नो मातृभूमिप्रति उत्तरदायी छौँ र समस्त मानवसमुदायप्रति सद्भाव राख्छौँ । हिन्दु हुनु गौरव हो । यस गौरवलाई ज्ञान, विवेक, संस्कार, सेवा र सदाचारका माध्यमबाट जीवित राख्नु हाम्रो साझा उत्तरदायित्व हो । स्वस्त्यस्तु