रोयटर्स । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ विदेशी गुप्तचरको निशानामा परेको हुन सक्ने आशंकामा स्वतन्त्र अनुसन्धान सुरु गरेको छ ।
हुआङको एक चिनियाँ व्यवसायीसँग निकट सम्बन्ध रहेको र ती महिलाले चीनलाई सूचना उपलब्ध गराएको समाचार सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले अनुसन्धान अघि बढाएको हो ।
द न्युयोर्क टाइम्स ले गत महिना हुआङ र सिंगापुरस्थित कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङबीच निकट सम्बन्ध रहेको समाचार प्रकाशित गरेको थियो । अमेरिकी अधिकारीहरूले एलिसलाई चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने व्यक्तिका रूपमा अनुसन्धान गरेको समाचारमा उल्लेख छ ।
यसैबीच, हुआङले आफ्नी पत्नीप्रति बेइमान भएको स्वीकार गरेका छन् । आइतबार कर्मचारीहरूलाई पठाएको सन्देशमा उनले आफूले वैवाहिक सम्बन्धमा विश्वासघात गरेको स्वीकार गर्दै त्यसको पूर्ण जिम्मेवारी लिने बताएका हुन् ।
एनभिडियाले सञ्चालक समितिका स्वतन्त्र सदस्यहरूको समितिले बाह्य कानुनी परामर्शदाताको सहयोगमा अनुसन्धान गर्ने जनाएको छ । कम्पनीका अनुसार हालसम्म अमेरिकी राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनामा कुनै क्षति पुगेको विश्वास गर्ने आधार छैन । यद्यपि, अनुसन्धानका क्रममा उपलब्ध सबै सूचनाको समीक्षा गरिनेछ ।
एनभिडियाले हुआङ र उनको नेतृत्व टोलीप्रति सञ्चालक समितिको विश्वास कायम रहेको जनाएको छ । हुआङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्पनीले उनको नेतृत्वमा कुनै अवरोध नआउने स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङसँग यस विषयमा कुराकानी नगरेको बताएका छन् । उनले हुआङलाई असल व्यक्ति भन्दै उनको कामको प्रशंसा गरेका छन् । आरोपबारे थप प्रतिक्रिया दिँदै ट्रम्पले हुआङको स्पष्टीकरण सुन्नुपर्ने बताएका छन् ।
द न्युयोर्क टाइम्स का अनुसार ट्रम्पलाई करिब एक वर्षअघि नै हुआङसँग सम्बन्धित गुप्तचर सूचनाबारे जानकारी गराइएको थियो । तर, उनले त्यसबेला कुनै कदम नचालेको समाचारमा उल्लेख छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् भने चीनको विदेश मन्त्रालयले पनि तत्काल प्रतिक्रिया दिएको छैन ।
हुआङले भने एनभिडियाको संरक्षण र अमेरिकी राष्ट्रिय सुरक्षालाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । यस घटनाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तार र त्यसमा लगानीको दिगोपनाबारे चिन्ता बढिरहेका बेला एनभिडियाको सेयरमा थप दबाब पर्न सक्ने विश्लेषकहरूले बताएका छन् । साथै, कम्पनीको नेतृत्वमा हुआङको भविष्यबारे समेत प्रश्न उठ्न सक्ने उनीहरूको आकलन छ ।

प्रतिक्रिया