तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण


तनहुँ। तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ ।

कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार बीमा गरिएका पशुपन्छी तथा माछाको कुल सङ्ख्या दुई लाख ६१ हजार ११२ छ । बीमा गरिएका पशुधनको विवरणमा सबैभन्दा धेरै कुखुरा छन् । त्यसपछि माछा, बाख्रा, गाई, भैँसी, बङ्गुर र घोडा–खच्चरको बीमा गरिएको छ ।

ठकुरीका अनुसार गाई, भैँसी, घोडा–खच्चर, बाख्रा, बङ्गुर, कुखुरा र माछाको बीमित मूल्य जोड्दा ६८ करोड ९३ लाख ४२ हजार ४२८ रुपैयाँ पुगेको छ । यी पशुधनको बीमाका लागि कुल प्रिमियम शुल्क तीन करोड २२ लाख ९३ हजार ८९० रुपैयाँ रहेको छ भने किसानले व्यहोरेको रकम ६४ लाख ५० हजार ७७९ रुपैयाँ छ ।

ठकुरीका अनुसार जिल्लामा एक लाख ५२ हजार १४७ कुखुराको बीमा गरिएको छ । कुखुराको बीमित मूल्य १० करोड ४५ लाख ९० हजार ६८१ रुपैयाँ छ । यसका लागि ३० लाख पाँच हजार १३३ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले छ लाख एक हजार २७ रुपैयाँ व्यहोरेका छन् ।

यस्तै ९८ हजार पाँच सय माछाको बीमा गरिएको छ । माछाको बीमित मूल्य २५ लाख २४ हजार रहेकामा ७५ हजार ७२० रुपैयाँ प्रिमियम शुल्कमध्ये किसानले १५ हजार १४४ रुपैयाँ व्यहोरेका छन् ।

तनहुँमा चार हजार ९१ गाईको बीमा गरिएको छ । ती गाईको बीमित मूल्य ३० करोड ९६ लाख ५२ हजार रुपैयाँ रहेको छ । गाईको बीमाका लागि एक करोड ५६ लाख ६९ हजार ४९४ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा ३१ लाख ३३ हजार ८०० रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, एक हजार ९७० भैँसीको बीमा गरिएको छ । भैँसीको बीमित मूल्य १५ करोड १७ लाख १४ हजार रुपैयाँ रहेको छ । त्यसका लागि ७५ लाख ४५ हजार ३९६ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले १५ लाख नौ हजार ७९ रुपैयाँ व्यहोरेका छन् ।

जिल्लामा तीन हजार ४१२ बाख्राको बीमा गरिएको छ । बाख्राको बीमित मूल्य छ करोड ८३ लाख ७४ हजार ७४७ रुपैयाँ छ । बीमाका लागि ३४ लाख ४८ हजार ७०९ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा छ लाख ७८ हजार ७४२ रुपैयाँ छ ।

त्यस्तै, ९८९ बङ्गुरको बीमा गरिएको छ । बङ्गुरको बीमित मूल्य पाँच करोड १८ लाख ८१ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । त्यसका लागि २५ लाख २९ हजार ४३८ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले पाँच लाख पाँच हजार ८८ रुपैयाँ व्यहोरेका छन् ।

यसका अतिरिक्त जिल्लामा तीन घोडा–खच्चरको बीमा गरिएको छ । तिनको बीमित मूल्य छ लाख रुपैयाँ रहेको छ । घोडा–खच्चरको बीमाका लागि ३० हजार रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा छ हजार छ रुपैयाँ छ ।

पशु बीमाले रोग, दुर्घटना तथा अन्य बीमालेखमा समेटिएका कारणबाट पशुधनमा क्षति हुँदा किसानलाई आर्थिक राहत उपलब्ध गराउने आधार तयार गर्ने ठकुरीको भनाइ छ । विशेषगरी गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर तथा माछापालनमा संलग्न किसानका लागि बीमा उपयोगी हुने उनले बताए ।