दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, दुईको अवस्था गम्भीर


दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३६/३७ वर्षीय बमबहादुर रावतलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आज बिहान करिब ५ बजे रावतले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी धारिलो हतियार हँसिया प्रहार गर्दै कुटपिट गरेका थिए। आक्रमणबाट पुनकी श्रीमती, बुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका छन्।

घाइतेमध्ये ४५ वर्षीया बीमा मगरको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, २५ वर्षीया महेसरा पुनका दुवै हत्केला छिनिएका छन्। अन्य घाइते २० वर्षीया लक्ष्मी पुन, २३ वर्षीया तिला पुन मगर र तीन महिनाकी जानकी रोक्का मगरको अवस्था मध्यम रहेको छ।

घाइतेहरूको स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते बिमा मगरलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ।

घटनाबारे बिहान ५ बजे सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा नौ सदस्यीय टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।