इजरायलमा नेतान्याहुलाई पछि पार्दै आइजेनकोटले पाए सरकार गठनको अवसर


बीबीसी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी विपक्षी नेता गादी आइजेनकोटलाई दिने भएका छन् । गत साता सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन र आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धन दुवैले संसद्मा बहुमत हासिल गर्न नसकेपछि राष्ट्रपतिले आइजेनकोटलाई सरकार गठनको पहिलो अवसर दिन लागेका हुन् ।

इजरायलको संसद् नेसेटमा कुल १२० सिट रहेकामा नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टी र उसका अतिदक्षिणपन्थी तथा अतिवादी यहुदी सहयोगी दलहरूले ५३ सिट जितेका छन् । यस्तै, आइजेनकोटको मध्यमार्गी याशार पार्टीसहित विपक्षी गठबन्धनका चार दलले ४८ सिट प्राप्त गरेका छन् ।

यसैगरी, अरब नेतृत्वका दुई गठबन्धन युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले संयुक्त रूपमा १९ सिट जितेका छन् । अरब समुदायका मतदाताको मतदानमा उल्लेख्य सहभागिता बढेसँगै उनीहरूले अहिलेसम्मकै बढी सिट हासिल गरेका हुन् । उनीहरूको समर्थन सरकार गठनका लागि निर्णायक हुन सक्ने देखिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार संसद्मा निर्वाचित सदस्यहरूको समर्थनका आधारमा आइजेनकोटले प्रधानमन्त्री बन्न ६७ जनाको सिफारिस प्राप्त गरेका छन् भने नेतान्याहुले ४६ जनाको समर्थन पाएका छन् ।अब आइजेनकोटले सरकार गठनका लागि २८ दिनको समय पाउनेछन् । आवश्यक परे उनलाई थप १४ दिन समय दिन सकिनेछ ।

आइजेनकोटले सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने समय आएको बताएका छन् । उनले देशका लागि उपयुक्त सरकार निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने उल्लेख गरेका छन् ।

इजरायलमा कुनै पनि राजनीतिक दलले एकल बहुमत प्राप्त नगरेकाले सरकार गठनका लागि गठबन्धन अनिवार्य हुँदै आएको छ । तर, आइजेनकोट नेतृत्वको गठबन्धनका अधिकांश दलले निर्वाचनअघि अरब दलहरूसँग मिलेर सरकार नबनाउने प्रतिबद्धता जनाएका थिए । त्यसैले अरब दलको समर्थनमा सरकार गठन गर्ने विकल्प चुनौतीपूर्ण देखिएको छ ।

त्यस्तै, अतिरुढिवादी यहुदी दलहरूसँग सहकार्य गरेर सरकार बनाउने सम्भावना पनि सहज छैन । अर्कोतर्फ नेतान्याहु र आइजेनकोटबीच राष्ट्रिय एकताको सरकार गठन गर्ने विकल्पसमेत खुला रहेको छ ।यसअघि सन् २०२० मा लगातार तीनवटा निर्वाचनपछि नेतान्याहु र मध्यमार्गी नेता बेनी गान्ट्जबीच आलोपालो नेतृत्व गर्ने गरी सत्ता साझेदारीको सहमति भएको थियो ।

इजरायलमा सन् २०१९ देखि २०२२ सम्म राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको थियो । उक्त अवधिमा नेतान्याहु र उनका राजनीतिक प्रतिस्पर्धीबीच सहकार्य हुन नसक्दा पाँच पटक निर्वाचन भएको थियो ।