हुथी समूहको हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसङ्घको माग


न्युयोर्क। यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसङ्घले माग गरेको छ । हिरासतमा रहेका राष्ट्रसङ्घीय कर्मचारी मोहम्मद अल शमीको मृत्यु भएपछि बन्दीहरूको सुरक्षा, स्वास्थ्य र उपचारबारे चिन्ता व्यक्त गर्दै राष्ट्रसङ्घले उनीहरूको अवस्थाबारे विश्वसनीय जानकारी दिन पनि आग्रह गरेको छ ।

महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले हिरासतमा रहेका कर्मचारीलाई आवश्यक उपचार उपलब्ध गराउन र परिवारसँग नियमित सम्पर्क गर्न दिनुपर्ने बताएका छन् । उनले अल शमीको मृत्युको मिति, कारण र परिस्थितिबारे स्वतन्त्र, निष्पक्ष तथा पारदर्शी अनुसन्धान गरी जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएको छ ।

अल शमीको शव गत साता परिवारलाई बुझाइएको थियो । परिवारका अनुसार उनको मृत्यु करिब एक महिनाअघि भए पनि त्यसबारे जानकारी हालै मात्र दिइएको थियो । हुथी हिरासतमा मृत्यु हुने उनी दोस्रो राष्ट्रसङ्घीय कर्मचारी छन् ।

सन् २०२४ जुनमा हुथीहरूको धरपकडका क्रममा अल शमीसहित १३ जना राष्ट्रसङ्घीय कर्मचारी पक्राउ परेका थिए । हाल हुथी नियन्त्रणमा १०० भन्दा बढी कर्मचारी स्वेच्छाचारी रूपमा हिरासतमा रहेको विश्वास गरिएको छ । राष्ट्रसङ्घले उनीहरूको अवस्था, उपचार र सुरक्षाबारे तत्काल प्रमाणित जानकारी उपलब्ध गराउन पनि माग गरेको छ ।

यसैबीच, राष्ट्रसङ्घका अनुसार यमनमा जारी हिंसाका कारण ताइज प्रान्तमा मात्रै करिब एक लाख ३५ हजार मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले द्वन्द्व प्रभावित नागरिकको सुरक्षा र विस्थापित समुदायसम्म सुरक्षित तथा निर्बाध मानवीय सहायता पुर्याउन सबै पक्षसँग आग्रह गरेको छ ।