न्यायालयको विवादमा सांसदहरुको मौनता किन ?


काठमाडौं । सर्वोच्च अदालतका पूर्वमुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले सर्वोच्च अदालतका न्यायाधीशको आचरण र अनियमितताबारे गम्भीर प्रश्न उठ्दा पनि संसद र राजनीतिक दलहरू मौन बसेको भन्दै आलोचना गरेका छन् ।

सामाजिक संजालमार्फत ढकालले यस्तो विषय सार्वजनिक भएपछि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले तत्काल संसदीय दलको बैठक बोलाएर संसद्को विशेष अधिवेशन माग गर्नुपर्ने बताएका हुन् । सरकारले समेत विषयको गम्भीरता बुझेर विशेष अधिवेशन आह्वानका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतका न्यायाधीशको आचरण र अनियमितता सम्बन्धमा गम्भीर प्रश्न उठिसकेपछि तुरुन्त संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुले संसदिय दलको बैठक बोलाई संसदको विशेष अधिवेशनको माग गर्नुपथ्र्यो। स्वयं सरकारले पनि यो कुरा संज्ञानमा लिई विशेष अधिवेशनको लागि पहल गर्नुपथ्र्यो । कसले के बोल्यो भन्ने बिषयमा महिनौँ लफडा मच्चाउने सांसदहरु यस्तो गम्भीर बिषयमा मौन बसेको कुराले संसद गफाडीहरुको गफ गर्ने अखाडा हो, यसले निकास दिँदैन भन्ने कुराको पुनःपुष्टि भएको छ। ०४७ सालदेखिको अकर्मण्य संसदको तल्लो स्तरको प्रदर्शनले क्षतविक्षत मुलुकले अब संसदीय व्यवस्थाको भारी बोकिरहन सक्दैन।’

उनले २०४७ सालदेखि संसदीय अभ्यासमा देखिएको अकर्मण्यताप्रति प्रश्न उठाउँदै मुलुकले अब संसदीय व्यवस्थाको भारी बोकिरहन नसक्ने टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रपति कार्यालय, सिंहदरबार, संसद र सर्वोच्च अदालतका निर्जिव घरहरु जलाउनु तर ती संस्थाहरुमा व्याप्त बिकृति हटाउन र पुनर्संरचना गर्न पहल नगर्नु एक ऐतिहासिक भुल थियो। सोच्नुपर्छ।’