प्रचारप्रसार नहुँदा ओझेलमा धैबुङ कालिका मन्दिर


रसुवा । धैबुङ कालिका मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । यो मन्दिरले पुरातात्त्विक महत्व बोकेको छ ।

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइमा अवस्थित छ, यो मन्दिर । यहाँ अवस्थित गढीहरूको संरक्षण गर्न सके यो क्षेत्रलाई रसुवाकै अग्रणी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

रसुवाको सदरमुकाम धुन्चेबाट २४ किलोमिटर दक्षिण तथा सङ्घीय राजधानी काठमाडौँबाट ९४ किलोमिटर उत्तरमा उक्त मन्दिर अवस्थित छ । पासाङल्हामु राजमार्गको छेउमै रहेको यो ऐतिहासिक स्थलमा अनुकूल हावापानी पाइन्छ ।

गर्मी महिनामा बहने हिमाली शीतल हावा र जाडोमा समेत तुसारो नपर्ने विशेषताका कारण यो स्थल भ्रमणका लागि आकर्षक मानिन्छ । मन्दिरसँग नेपाल चीन(भोट) युद्धको गौरवशाली इतिहाससँग जोडिएको कालिका क्षेत्र विकास समितिले उल्लेख गरेको छ ।

दोस्रो नेपाल–चीन युद्धका क्रममा चिनियाँ फौज नेपाली सेनालाई पछि हटाउँदै बेत्रावतीसम्म आइपुग्दा यसै मन्दिर परिसरमा गाई र गोरूको बली चढाइएको किंवदन्ती छ ।

सोही घटनापछि एकाएक उत्पन्न भएको भीषण चट्याङ, हावाहुरी र प्राकृतिक विपत्तिमा परी चिनियाँ फौज ठूलो क्षति बेहोर्दै त्रिशूली नदीमा होमिन पुगेको र नेपाली भूमि सुरक्षित रहेको इतिहास छ ।

त्यसै बेलादेखि नै कालिकामाईको शक्तिको चर्चा चुलिएको र यसलाई ‘धैबुङ चित्र कालिका’ का रूपमा पुज्न थालिएको हो । यद्यपि, समयक्रमसँगै यो ऐतिहासिक नाम भने विस्तारै ओझेलमा पर्दै जान थालेकोमा संस्कृतिविद्हरू चिन्ता व्यक्त गर्छन् ।

पण्डित टंकप्रसाद ढकालले विवाह, व्रतबन्ध वा ठूला सांस्कृतिक कार्य हुँदा मन्दिरमा रहेकी कालिका माईसँग प्रार्थना गरेकै भरमा आवश्यकता अनुसारका तामा–पित्तलका भाँडाकुँडा उपलब्ध हुने गर्दथे ।

तर, पछि मानिसहरूमा लोभ र अशुद्धता बढेसँगै नियमानुसार भाँडाकुँडा फिर्ता नगरेपछि माई रिसाएर सो चमत्कार रोकिएको लोकविश्वास छ । पण्डित ढकालका अनुसार यो स्थल केवल एउटा मन्दिर मात्र नभएर सिङ्गो रसुवाकै धार्मिक र सांस्कृतिक पहिचानको जीवित इतिहास हो ।

रसुवाको कालिका गाउँपालिका–२ का वडा अध्यक्ष उमेशबहादुर न्यौपानेले परापूर्वकालदेखिनै महाशक्तिपीठको रूपमा पुजिँदै आएको धैबुङ कालिका रसुवाकै एक अमूल्य धरोहर बताए।

गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले पालिका भित्रका पुरातात्त्विक र ऐतिहासिक धरोहरहरूको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । यहाँको धार्मिक तथा ऐतिहासिक पर्यटनको विकासका लागि गाउँपालिकाले विशेष नीति र बजेटको व्यवस्था गरेको छ ।

विसं २०६० मा राम्चेमा गएको विनाशकारी पहिरोले सैनिक ब्यारेक बगाएपछि विस्थापित सेनाका जवानहरू अस्थायी रूपमा मन्दिर परिसरमा बस्दै आएका छन् । ब्यारेकले ठाउँ ओगटेपछि मन्दिरको नियमित पूजापाठ र सर्वसाधारणको सहज आवागमनमा केही सङ्कुचन आएको छ ।

विगतमा काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट लगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटक तथा वनभोज का लागि आउने भक्तजनको लर्को लाग्ने गरे पनि हाल पर्याप्त खुला स्थानको अभाव देखिएको छ ।

मन्दिरको पूर्वपट्टी रहेको नेपाल–चीन युद्धकालको ऐतिहासिक ’कोतघर’ अहिले भग्नावशेषमा परिणत भइसकेको छ । वरपरका कमारेगढी र घलेगढी जस्ता पुरातात्त्विक महत्त्वका प्राचीन किल्लासमेत उचित मर्मत–सम्भारको अभावमा जीर्ण बन्दै गएका छन् ।

पासाङल्हामु राजमार्गबाट मात्र पाँच मिनेटको पैदल यात्रामा सहजै पुग्न सकिने यो स्थल पहुँचका दृष्टिले अत्यन्तै सुलभ छ ।

यहाँको अद्वितीय प्राकृतिक दृश्य, अनुकूल मौसम र ऐतिहासिक विरासतलाई एकापसमा जोडेर राज्यले बेलैमा प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सके यो क्षेत्र रसुवाकै समग्र पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई गति दिने एउटा दरो खम्बा बन्न सक्ने प्रगाढ सम्भावना देखिन्छ ।