काठमाडौँ । सर्वोच्च अदालतका पूर्वमुख्यरजिष्ट्रार देवेन्द्रराज ढकालले न्यायपालिकाभित्र देखिएका विकृति र न्यायाधीशहरूको विवादास्पद गतिविधिबारे व्यापक तथा निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।
उनले इनम सापकोटासँगको सम्बन्ध र हिमालयन होटलमा न्यायाधीशहरूको भेटघाटलाई मात्र न्यायपालिकाभित्रको विचलनको विषय मानेर छानबिन सीमित गर्नु अर्को ठूलो भूल हुने टिप्पणी गरेका छन् ।
ढकालका अनुसार हिमालयन होटलमा सापकोटालाई भेट्न जाने न्यायाधीशहरू मात्र चलखेलमा संलग्न रहेको र अन्य सबै निर्दोष रहेको निष्कर्ष निकाल्नु उचित हुँदैन । न्यायाधीशहरूको पदीय तथा आर्थिक वृत्तिविकासका लागि हुने अस्वस्थ प्रतिस्पर्धा र चलखेलबारे पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘इनम सापकोटासँगको लसपस मात्र सर्बोच्च अदालतभित्रको न्यायाधीशहरुको बिचलनको एक्लो घटना होइन। हिमालयन होटलमा सापकोटालाई भेट्न जाने न्यायाधीशहरु मात्र चलखेलमा संलग्न छन्, बाँकी ठिक छन् भन्ने निष्कर्ष निकालियो र छानबिनलाई त्यसैमा सीमित राखियो भने त्यो अर्को महाभूल हुनेछ । जो न्यायाधीश वृत्तोन्नति (पदीय र मौद्रिक दुबै) का लागि यसरी निर्लज्ज कुदेका छन् उनीहरुले पदप्राप्तिका लागि के सम्म गरेनन् होला जोसुकैले सहजै अनुमान गर्न सक्दछ। अधिकांश न्यायाधीशहरुको ध्यान जहिलेसुकै पनि आफु बन्न, टिक्न, फस्टाउन र अर्कालाई बनाउनमै केन्द्रित छ। पहिला बन्नका लागि जे पनि गर्ने बनिसकेपछि झन् जे पनि गर्ने प्रबृत्तिका कारण न्यायपालिका आज यो अवस्थामा पुगेको हो।’
उनले न्यायपालिकाको शुद्धीकरण गर्ने हो भने विगतमा उठेका प्रश्न र विवादमा परेका न्यायाधीशहरूका सम्बन्धमा समेत कुनै पक्षपात नगरी अनुसन्धान तथा कारबाही गर्नुपर्ने उनले बताएका छन् । छानबिनलाई पक्षपातपूर्ण वा चयनात्मक बनाइए त्यसले न्यायपालिकामात्र नभई समग्र मुलुकलाई नै लामो समयसम्म कुशासनको अवस्थामा पुर्याउने ढकालले चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘यदि न्यायपालिका शुद्धीकरणको प्रयास गर्ने आँट र अठोट आधिकारिक निकायमा छ भने बिगतमा अहिले उठेका प्रत्येक प्रश्न र प्रश्नको घेरामा रहेका न्यायाधीशहरुका सम्बन्धमा नछुटाइकन अनुसन्धान र कारबाही हुनुपर्छ। यदि यसपटक पनि तेरो मेरोको नाममा छानबिन चयनात्मक बन्यो भने नेपालको न्यायपालिका मात्र हैन समग्र मुलुक नै लामो समयका लागि कुशासनको खाडलमा जाकिने पक्का छ।’

प्रतिक्रिया