नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा आज हुने विपक्षी दलको बृहत् प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै निर्वाचन प्रमुखको राजीनामा मागसहित हुन लागेको प्रदर्शनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीहरू लाठी र ढालसहित दङ्गा नियन्त्रण गर्ने सवारीसाधनका साथ तैनाथ छन् ।
भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको नेतृत्वमा हुने प्रदर्शन तथा र्यालीलाई लक्षित गर्दै प्रशासनले ट्राफिक व्यवस्थापन र सवारी आवागमनमा डाइभर्सनको सूचना जारी गरेको छ । विपक्षी दलहरूले उक्त प्रदर्शनमा लाखौँ मानिस सहभागी हुने अपेक्षा गरेका छन् । उनीहरूले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टी (भाजपा) सरकारका लागि ठूलो चुनौतीका रूपमा प्रस्तुत गरेका छन् ।
विपक्षी दल, विद्यार्थी सङ्गठन तथा युवाहरूको नेतृत्वमा रहेको ‘कक्रोच जनता पार्टी’ले गत महिनादेखि नै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै लगभग दैनिकजसो प्रदर्शन गर्दै आएका छन् । मतदाता सूची संशोधनका क्रममा भाजपालाई फाइदा पुग्ने गरी मतदाताको नाम हटाइएको उनीहरूको आरोप छ ।
तर, निर्वाचन आयोगले कुनै पनि राजनीतिक दललाई फाइदा पुग्ने गरी काम नगरेको स्पष्ट पारेको छ । आयोगले गल्तीवश मतदाता सूचीबाट नाम हटाइएकाहरूले पुनः नाम दर्ता गराउन सक्ने जनाएको छ । यता भाजपाले भने विपक्षी दलहरूले वैध निर्वाचन प्रक्रियामाथि अनावश्यक प्रश्न उठाएर लोकतन्त्रलाई कमजोर पार्न खोजेको आरोप लगाएको छ ।
विश्लेषकहरूका अनुसार युवाहरूको प्रदर्शन र विपक्षी दलप्रति बढ्दो समर्थन सन् २०१४ मा सत्तामा आएयता प्रधानमन्त्री मोदीले सामना गरेको सबैभन्दा ठूलो राजनीतिक सङ्कट बनेको छ । यद्यपि, उनको सरकार स्थिर अवस्थामा रहेको छ र भारतमा अर्को आमनिर्वाचन सन् २०२९ मा हुने निर्धारित छ ।

प्रतिक्रिया