प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य : रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको भन्दै गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई बिनासर्त र ससम्मान तत्काल रिहा गर्न माग गरेको छ।

पार्टीले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको जनाएको छ। लोकतन्त्रमा सञ्चार जगत्ले नागरिकको आवाज मुखरित गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै कानुन कार्यान्वयनका नाममा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने कार्य लोकतान्त्रिक आचरणविपरीत हुने रास्वपाको भनाइ छ।

प्रकाशित समाचारप्रति कुनै विमति वा कानुनी प्रश्न भए त्यसको निरूपण राज्यका स्थापित कानुनी प्रक्रिया र वैधानिक निकायमार्फत हुनुपर्ने पार्टीले जनाएको छ। सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्था क्रियाशील हुँदाहुँदै स्थापित कानुनी बाटो छलेर पत्रकारमाथि धरपकड गर्नु न्यायोचित नहुने विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले पत्रकार नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको घटनाबारे निष्पक्ष, पारदर्शी तथा यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

त्यस्तै, कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी निर्भीकतापूर्वक पत्रकारिता गर्न सञ्चारकर्मीलाई आह्वान गर्दै पार्टीले सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ।सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने रास्वपाले जनाएको छ।