बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ


काठमाडौँ । बाइनान्समार्फत दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिल कुमार यादव रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी गर्ने तथा अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

प्रहरीले सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा यादव बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ दशमलव ५० अमेरिकी डलर कारोबारमा संलग्न रहेको फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार प्रतिअमेरिकी डलर १५१ रुपैयाँ ५३ पैसाका दरले हिसाब गर्दा उक्त कारोबारको नेपाली मूल्य दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ हुन्छ।

जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा यादवलाई पक्राउ गरिएको हो। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने तथा दफा २६२(क)(१) अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।