काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क उठाउन सुरु गरिने जनाएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार टोल शुल्क सङ्कलन गर्न लागिएको आयोजनाले जनाएको छ ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनीबस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ टोल शुल्क निर्धारण गरिएको छ ।
यसैगरी, मल्टी एक्सल ट्रक, अन्य ठूला सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया