हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर


बागमती। नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । उक्त मन्दिर हेटौँडा उपमहानगरपालिका–७ मा रहेको छ । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए ।

किंवदन्तीअनुसार जङ्गल फडानी भई बस्ती बस्न थालेसँगै यहाँका स्थानीयवासी एवं पाल्तु जनावरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिन थालेछन् । समग्र बस्ती नै रोगव्याधिबाट ग्रसित हुन थालेसँगै स्थानीय अर्याल थरका ज्योतिषी कहाँ हेराउँदा वनदेवीको पूजाआजा गरेमा सबै समस्याबाट मुक्त भइने भन्ने कुरा आएछ ।

भनिएअनुसार उक्त परिसरमा रहेको त्रिशूल जस्तो आकारको देखिने सालको रूखमुनि शिला स्थापना गरी वनदेवीको पूजाआजा गरिएछ । पूजा गरिएसँगै सबै किसिमका स्वास्थ्य समस्या अन्त्य भएको किंवदन्ती रहेको अध्यक्ष ढकालले जानकारी दिए।

त्यस समयदेखि नै यहाँ वनदेवीको निरन्तर पूजाआजा हुँदै आएको बताउँदै उनले यस आसपासका बहादुरगञ्ज, राजपानी, नागस्वती, अग्राठेलगायत क्षेत्रका बासिन्दाले अत्यन्त श्रद्धा भक्तिपूर्वक नियमित रुपमा पूजाआजा गर्दै आएको जानकारी दिए ।

‘मन्दिरमा विभिन्न भाकलसहित पूजाआजा गर्न आउनेको सङ्ख्या बढ्दो छ’, उनले भने, ‘श्रद्धा भक्तिका साथ पूजाआजा गरिएमा मनले चिताएको पुग्ने गरेको हाम्रा प्रत्यक्ष अनुभवहरू रहेका छन् ।

मन्दिर परिसरमा गणेश, ऋृषेश्वर महादेव, हनुमान, राधाकृष्ण आदि देवीदेवताका मूर्तिहरू रहेका छन् । विगतमा चैते दसैँका समयमा मेला लाग्ने गरेपनि पछिल्ला वर्षमा उक्त मेला लाग्न छोडेको स्थानीयवासी बताउँछन् ।

चैत शुक्ल अष्टमीदेखि नवमीसम्म मेला लाग्ने गरेको छ । मेलाका क्रममा बलि चढाइएको बोकाको मासु प्रसादस्वरुप वरपरका सबै स्थानीयवासीलाई बाँड्ने प्रचलन रहेको थियो ।

यसअघि मन्दिरमा मगर समूदायले हाँस तथा कुखुरा, क्षेत्री समुदायले बोका, नेवारले राँगाको बलि दिने प्रचलन रहेको ढकालले जानकारी दिए । बडादसैँ, चैतेदसैँसहित विभिन्न तिथिमिति र पर्व विशेषमा पूजाआजा हुने गरेको यस मन्दिरमा अन्य कुनै आर्थिक स्रोत नभए पनि भक्तजनबाट गरिएका दान तथा सहयोगले नियमित पूजाआजा सञ्चालन भइरहेको उनले बताए।

यसअघि स्थानीय गिरिराज ढकालले बनाइदिएको मन्दिर भूकम्पका कारण क्षतिग्रस्त बनेसँगै स्थानीय समाजसेवी दलबहादुर खड्काले एक करोड ६४ लाख लागतमा हालको मन्दिर निर्माण गरिदिएका हुन्

मन्दिरमा यस अघि २०८१ साल माघ १२ गतेदेखि २० गतेसम्म विशेष धार्मिक अनुष्ठान लगाइएको थियो । हेडौँडा महानगरपालिका–७ का पूर्ववडाध्यक्ष राजन थापाका अनुसार हेटौँडाको बस्ती विकासको इतिहासको साक्षी यो मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

विभिन्न मनोकांक्षका साथ हेटौँडा र आसपासका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको उनले बताए। वनदेवी मन्दिरलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्न सकिने धेरै सम्भावना रहेको छ ।

वनदेवी मन्दिरको दिगो र व्यवस्थित सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको छ । पछिल्ला समयमा यस क्षेत्रबाट स्थानीयवासीले विभिन्न किसिमको सहयोग स्वतस्फुर्त रुपमा सहयोग गर्ने गरेका छन् । मन्दिरको अक्षयकोषमा रु २० लाख जम्मा भइसकेको अध्यक्ष ढकालले जानकारी दिए ।

‘मन्दिरको पूजाआजा तथा सरसफाइमा मासिक न्यूनतम २५ हजार खर्च लाग्ने गरेको छ तर मन्दिरको आम्दानीको अन्य कुनै स्रोत छैन’, उनले भने, ‘भक्तजनको स्वतस्फुर्त सहयोगसँगै आउने दान सहयोग नै मन्दिर सञ्चालनको मुख्य आधार हो ।’

मन्दिरमा नियमित पूजाआजासहित दैनिक चण्डीपाठ, राधाकृष्ण मन्दिरमा विष्णु सहश्रनाम पाठ, अखण्ड दीप प्रज्वलन आदि भइरहेको उनले जानकारी दिए ।