महिलालाई लागुऔषध खुवाएर बलात्कार गर्ने तीन दाजुभाइलाई ३० वर्षको जेल सजाय


रोयटर्स । अमेरिकामा महिलालाई लागुऔषध खुवाएर बलात्कार तथा यौन तस्करी गरेको अभियोगमा दोषी ठहरिएका अलेक्जेन्डर दाजुभाइ तीनै जनालाई जनही ३० वर्षको जेल सजाय सुनाइएको छ।

रोयटर्सका अनुसार ३९ वर्षीय जुम्ल्याहा दाजुभाइ एलोन अलेक्जेन्डर र ओरेन अलेक्जेन्डर तथा ४० वर्षीय ताल अलेक्जेन्डरलाई मंगलबार न्युयोर्कको म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश भ्यालेरी क्याप्रोनीले सजाय सुनाएकी हुन्। उनीहरू सात महिनाअघि छ हप्तासम्म चलेको सुनुवाइपछि यौन तस्करीको षड्यन्त्रसहित विभिन्न यौन अपराधमा दोषी ठहरिएका थिए।

अभियोजन पक्षका अनुसार तीनै भाइले आफ्नो आर्थिक हैसियत र उच्च सामाजिक पहुँचको दुरुपयोग गर्दै कम्तीमा १४ वर्षसम्म महिला तथा किशोरीहरूलाई निशाना बनाएका थिए। ७० भन्दा बढी महिलाले उनीहरूमध्ये एक वा एकभन्दा बढीबाट यौन दुव्र्यवहार भएको आरोप लगाएका थिए।

आरोपअनुसार न्युयोर्कको म्यानह्याटन, लङ आइल्यान्डको ह्याम्पटन र कोलोराडोको एस्पेनलगायत स्थानमा यस्ता घटना भएका थिए। अभियोजन पक्षले सन् २०१७ को जनवरीमा एस्पेनस्थित एउटा नाइटक्लबमा विद्यालयको अन्तिम वर्ष मनाइरहेका तीन किशोरीलाई लागुऔषध खुवाएर पाँचतारे होटलमा आयोजित हुने भनिएको पार्टीमा बोलाई यौन दुव्र्यवहार गरेको आरोपसमेत लगाएको थियो।

ओरेन र ताल अलेक्जेन्डर विलासी घरजग्गा कारोबार गर्ने कम्पनी ‘अफिसियल’का सहसंस्थापक हुन् भने एलोन आफ्नो परिवारको सुरक्षा कम्पनी ‘केन्ट सेक्युरिटी’मा कार्यकारी पदमा थिए। अभियोजन पक्षले उनीहरूलाई आजीवन कारावासको सजाय दिन माग गरेको थियो भने प्रतिवादी पक्षले कानुनले तोकेको न्यूनतम १५ वर्षको सजाय माग गरेको थियो।

न्युयोर्क प्रहरी आयुक्त जेसिका टिसले सजायपछि प्रतिक्रिया दिँदै उनीहरूले धेरै महिलालाई पुर्याएको गम्भीर क्षतिको परिणाम अब भोग्नुपर्ने बताएकी छन्।