झापामा हवाई फायर गरेर दुई जना खैरो हेरोइन कारोबारी पक्राउ


झापा । भारतबाट लागुऔषध खैरो हेरोइन ल्याएर कोशी प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने गिरोहको निगरानीका क्रममा प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–१, सालमाराबाट १५०.१४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतको कुतुवा भिट्टाबाट मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरूलाई लागुऔषध कारोबारीका रूपमा पहिचान गरी नियन्त्रणमा लिन खोज्दा भारततर्फ भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो।

पक्राउ पर्नेमा झापा गाउँपालिका–१ का ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १५०.१४० ग्राम खैरो हेरोइन, नेपाली नम्बर प्लेटको मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल, भारतीय नम्बर प्लेटको बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।