म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।
बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानास्थित फापर खेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी काम छिटो गर्न खोजिए पनि पहिरो नरोकिएकाले सडक खुलाउन समय लागेको बताएका छन् ।
“दसैँको समयमा आवत-जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ”, उनले भने, “दसैँको चहलपहल सकिएपछि पहिलोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दो एवं जोखिमरहित सडक निर्माण गर्ने योजना छ ।”
कूल २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडक खण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।
लगातारको पहिरोका कारण सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जाने र कार्यक्षेत्रमा फर्कनेलाई समस्या परेको अवस्थामा तत्कालका लागि सडक सञ्चालनमा ल्याइएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया