एनपीएलको लिग चरणको टिकट ५००, फाइनलको दुई हजार रुपैयाँ


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।

क्यानले विज्ञप्ति जारी गरी लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको जनाएको हो ।

त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगिताका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ। तेस्रो संस्करणको एनपीएल आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।