उदयराज ढकाल
सनातन संस्कृति र परम्पराप्रति मेरो गहिरो सम्मान छ । अध्ययन, साधना, सत्सङ्ग र अभ्यासले यसप्रतिको आस्था प्रत्येक पछिल्लो दिनमा अझ प्रगाढ बन्दै गएको छ । सम्भवतः यही प्रगाढ आस्थाकै कारणले होला आफ्नै व्यवहारमाथि प्रश्न उठाउन पनि सिकाएको छ । धर्मका नाममा गरिने हरेक कामलाई आँखा चिम्लेर स्वीकार्दा धर्मको मर्यादा जोगिँदैन भन्नेमा म दृढ छु । सनातन संस्कृतिलाई अनुसरण गर्दै गर्दा स्वयंलाई कहाँ चुकिरहेका छौँ भनेर विचार गर्ने साहस पनि चाहिन्छ ।
बडादशैँका अवसरमा सामाजिक सञ्जालमा देखिएका पशुबलिसम्बन्धी कतिपय दृश्यले ३६५ दिनको अन्तरालमा पुनः मन विचलित भएको छ । आफ्नो नियन्त्रणमा रहेको निरीह प्राणीलाई तड्पाइएको छ । सभ्य भनिएको मानव जमातले वरिपरि रमिता हेरिरहेको छ । कसैले हतियार चलाइरहेको छ त कसैले क्यामेरा । प्राणीको छटपटी कसैका लागि मनोरञ्जन त कसैका लागि ‘कन्टेन्ट’ बनेको छ । यस्तो दृश्य देख्दा गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ कि कमजोरमाथि वश चलाउन सक्नु नै शक्ति हो ? आफ्नो उत्तेजनालाई नियन्त्रण गर्न नसक्ने हामी शक्तिको आराधना कसरी गरिरहेका छौँ ?
सनातन परम्पराभित्र विविध विश्वास र अभ्यास छन् । आफ्नै विधिसम्मत मौलिक परम्परा रहि आएका छन् । पशुबलि स्वीकार्ने अनुष्ठानसँगै अहिंसा, सात्त्विक उपासना र प्रतीकात्मक अर्पणलाई प्राथमिकता दिने परम्परा पनि विद्यमान छन् । बलि प्रचलित अभ्यासमा निश्चित विधि र मर्यादाको महत्त्व छ । तर विधिको चर्चा गरेर मात्र पशुलाई दिइएको यातनाको प्रश्न टार्न भने कदापि मिल्दैन । यसका लागि अनुष्ठान गर्ने तयारीसँगै त्यसको जिम्मेवारी लिने चेतना पनि हुनुपर्छ ।
रामायण र महाभारतका प्रसङ्ग सम्झँदा धर्मको पालना कति कठिन आत्मपरीक्षणसँग जोडिएको छ भन्ने बुझिन्छ। रामायणमा विभीषणले आफ्नै दाजु रावणलाई सीता फिर्ता गर्न सल्लाह दिन्छन् । रावणले नमानेपछि उनी दाजुको पक्ष छाडेर रामको शरणमा पुग्छन् । आफ्नै परिवारप्रतिको निष्ठाले समेत गलत कामको समर्थन गर्न बाध्य पार्नु हुँदैन भन्ने शिक्षा यस प्रसङ्गले स्पष्ट रुपमा दिन्छ ।
त्यही रामायणमा रामले शरणागतको रक्षालाई आफ्नो व्रत बताएका छन्। विभीषणलाई आश्रय दिने विषयमा संशय उठ्दा उनी शरणमा आउने रावणलाई समेत अभय दिने प्रतिबद्धता व्यक्त गर्छन्। शत्रुप्रति समेत रक्षाको यस्तो मर्यादा प्रस्तुत गर्ने ग्रन्थ पढेका हामी आफ्नो नियन्त्रणमा रहेको निरीह प्राणीको पीडाप्रति कसरी उदासीन हुन सक्छौँ ?
महाभारतमा अर्जुन आफ्ना स्वजन, पितामह र गुरुविरुद्ध युद्ध गर्नुपर्ने अवस्थामा गहिरो धर्मसङ्कटमा पर्छन् । कृष्णको उपदेशपछि उनी कर्तव्य निर्वाहका लागि युद्धमा उभिन्छन् । आफ्नै आदरणीयजनसँग लड्नुपर्ने त्यो प्रसङ्गलाई सम्बन्ध, मोह र कर्तव्यबीचको कठोर द्वन्द्वका रुपमा लिन सकिन्छ । त्यसबाट आज लिनुपर्ने शिक्षा आफ्नै पक्षको गलत व्यवहारलाई समेत प्रश्न गर्न सक्ने नैतिक साहस हो ।
कतिपय सन्दर्भमा चलिआएका अभ्यासलाई समयसापेक्ष तवरबाट परिष्कृत गर्न सक्नुपर्छ । सत्य र धर्मका लागि आफ्नै सम्बन्धको मोहभन्दा माथि उठ्नुपर्ने शिक्षा स्वीकार्ने हामी चलिआएको रीतिरिवाज वर्तमान समयका लागि कमजोर देखिएको छ भने सुधार गर्ने आँट गर्नुपर्छ । परम्परा प्रिय छ भन्दैमा त्यसका नाममा भइरहेको क्रूरता पनि प्रिय हुनुपर्ने हो ? आफूले अनुसरण गरेको संस्कृतिको मर्यादा जोगाउने पहिलो जिम्मेवारी त्यसका अनुयायीले नै लिनुपर्छ ।
भगवद्गीताले अहिंसा, अक्रोध र सम्पूर्ण प्राणीप्रतिको दयालाई दैवी गुण मानेको छ । त्यसैले करुणाको प्रश्न सनातनमाथि बाहिरबाट थोपरिएको प्रश्न होइन । यो आफ्नै आध्यात्मिक शिक्षाले हाम्रो आचरणसामु राखेको कसौटी हो । पूजा गर्दा उच्चारण गर्ने आदर्श र पूजा गरिसकेपछि देखाउने व्यवहारबीचको दूरी हामीले नै घटाउनुपर्छ ।
पशु अधिकारका हिमायतीसमक्ष पनि प्रश्न छन् । चाडपर्वका बेला उठ्ने आवाज वर्षभरिका वधस्थल, पशु ढुवानी, भोकै छाडिएका चौपाया, पशुको अवैध व्यापार र व्यवसायिक शोषणसम्म कति पुग्छ ? दशकौँ देखि चलाइएको अभियानले आजका दिनमा पशुको अवस्थामा के र कति सुधार ल्यायो ? कामको मूल्याङ्कन परिणामबाट हुनुपर्छ ।
सामाजिक सञ्जालमा दृश्य सार्वजनिक गर्नेहरूले समेत आफ्नो उद्देश्यबारे सोच्नुपर्छ । क्रूरताको प्रमाण प्रस्तुत गर्नु र लोकप्रियताका लागि प्राणीको छटपटी देखाउनु फरक कुरा हुन् । सामाजिक सञ्जालमा भ्यूज र लाइकका लागि पीडालाई तमासा बनाउने सामग्री खिच्ने, हेर्ने र फैलाउने कार्य घृणित हुन् । यो आफैमा पशुप्रति गरिएको अपराध हो । सबैले आफ्नो भूमिकाबारे विचार गरौँ । पीडा दिएर बध गरिएका पशुप्रति क्यामेरा घुमाइरहँदा पीडा रोक्न सकिने अवसर छुटिरहेको त छैन ?
धार्मिक अगुवाले यातना रोक्नका लागि सकारात्मक सन्देश प्रवाह गर्ने साहस राख्न सक्नुपर्छ । आवश्यक ज्ञान, तयारी र अनुशासनबिना अनुष्ठानमा संलग्न हुने प्रवृत्तिलाई प्रोत्साहन दिनु हुँदैन । बालबालिकालाई चाडपर्व चिनाउँदा करुणा र संयम पनि सिकाऔँ । उनीहरूले हाम्रो व्यवहारबाटै धर्म र संस्कृतिको अर्थ बुझिरहेका हुन्छन् । संवेदनहीनता सिकाएर बालबालिकालाई आफ्नै सनातन संस्कृतिबाट विमुख हुने वातावरण बनाउनु दुर्भाग्य हो ।
सनातनको हिमायती हुनुको परिचय स्वयंको आचरणमा देखियोस् । ‘बहुजन हिताय, बहुजन सुखाय’को कामना गर्ने मानव मनले निरीह प्राणीको पीडा पनि महसुस गरोस् । मानव हुनुका नाताले हामीमा संवेदना र अनुशासन चाहिन्छ ।
महानवमीको शुभकामना । माँ दुर्गा भवानीले हामीलाई आफ्नै कमजोरी चिन्न र करुणामय व्यवहार गर्न विवेक प्रदान गरून् । देवीसँग कृपा माग्दा हाम्रो नियन्त्रणमा रहेका प्राणीले पनि हामीबाट दया पाऊन् । सबैको मङ्गल होस् ।
(उदयराज ढकाल विगत एक दशकदेखि शिक्षा, स्वास्थ्य, युवा तथा आमनागरिकका सरोकारसँग सम्बन्धित समसामयिक सार्वजनिक नीति र सुशासनका विषयमा निरन्तर लेखन, विश्लेषण तथा सार्वजनिक बहसमा सक्रिय रहँदै आएका छन् ।)

प्रतिक्रिया