मुम्बई । बलिउड अभिनेता टाइगर श्रॉफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका छन् । घटनामा श्रॉफका चालक फिरदौससहित दुई जना घाइते भएका छन्।
बीबीसी न्युज मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहु प्रहरी वृत्तको क्षेत्रमा गोली प्रहारको घटना भएको हो। मुम्बई पश्चिम क्षेत्र–२ का प्रहरी उपायुक्त मोहित गर्गले घटनाको पुष्टि गरेका छन्।
मुम्बई प्रहरीले दिएको जानकारीअनुसार घाइतेमध्ये अभिनेता श्रॉफका चालक फिरदौसको बायाँ हातमा गोली लागेको छ। प्रहरीले अभिनेता श्रॉफ भने सुरक्षित रहेको जनाएको छ।
प्रहरी उपायुक्त गर्गका अनुसार घटना साँझ करिब ७ बजे भएको हो। प्रारम्भिक जानकारीअनुसार श्रॉफ निजी कामका लागि त्यहाँ पुगेका थिए। काम सकेर फर्किने क्रममा उनी सवार कारलाई लक्षित गरी गोली प्रहार गरिएको थियो।
घटनापछि विपक्षी दलहरूले महाराष्ट्रको कानुन व्यवस्थामाथि प्रश्न उठाएका छन्। कांग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले राज्यका मुख्यमन्त्री सर्वसाधारणलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन्। अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम) का नेता वारिस पठानले घटनालाई ‘कानुन व्यवस्थाको पूर्ण विफलता’ भनेका छन्।
प्रहरी उपायुक्त गर्गले घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले विभिन्न टोली परिचालन गरेको जानकारी दिएका छन्। उनका अनुसार प्रारम्भिक अनुसन्धानका लागि फरेन्सिक टोली पनि घटनास्थलमा खटिएको छ। हाल करिब १५ वटा प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेका छन्।
उनले घटनाका विषयमा थप विवरण संकलन भइरहेको बताउँदै कति राउन्ड गोली प्रहार भयो भन्नेबारे अहिले नै जानकारी दिन उपयुक्त नहुने बताएका छन्।
समाचार एजेन्सी आईएएनएसका अनुसार प्रहरीले आक्रमणकारीको पहिचान गर्न र उनीहरू भागेको बाटो पत्ता लगाउन आसपासका क्षेत्रका सीसीटीभी फुटेज जाँच गर्न थालेको छ। वरिष्ठ प्रहरी अधिकारीहरू पनि घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएका छन्।

प्रतिक्रिया