राष्ट्रपतिमा निर्वाचित भएमा १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता


जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको शासन अन्त्य गर्ने बताएका छन् ।

“आज म सार्वजनिक प्रतिबद्धता गर्छु; म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेको क्षणदेखि १८ महिनाभित्र हमासले गाजा पट्टीमा शासन गर्ने छैन,” केन्द्र–दक्षिणपन्थी याशर पार्टीका नेता आइसेनकोटले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र नजिकै गरिएको एक पत्रकार सम्मेलनमा भने ।

उनले यो लक्ष्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजना कार्यान्वयन गरेर हासिल गर्ने बताए । योजनामा हमासको क्रमिक निशस्त्रीकरण र सत्ता हस्तान्तरणको व्यवस्था गरिएको छ । उनले इजरायली सेनाद्वारा प्यालेस्टिनी आन्दोलनको सैन्य शाखालाई नष्ट गर्ने ‘रचनात्मक अभियान’ मार्फत पनि यो गर्न सकिने उल्लेख गरे ।

गाजाको प्रशासन नवगठित प्राविधिक प्यालेस्टिनी समिति ‘गाजा प्रशासनका लागि राष्ट्रिय समिति (एनसीएजी)’ लाई हस्तान्तरण गर्न सहज होस् भनी हमासले जुलाईमा आफ्नो शासन निकाय भङ्ग गर्ने घोषणा गरेको थियो ।

हाल कायरोमा रहेको एनसीएजी गत अक्टोबरमा युद्धविराम घोषणापछि गठन भएको थियो र यसको निरीक्षण ट्रम्पको ‘बोर्ड अफ पिस’ ले गर्छ ।

जुलाईको अन्त्यतिर हमासले आफ्ना हतियार एनसीएजीलाई बुझाउने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो तर इजरायल संशयमा छ । नेतान्याहुले सेना फिर्ता लैजानुअघि सबै हतियारको प्रमाणित निशस्त्रीकरणको माग गर्दै आएका छन् ।

हमासले निशस्त्रीकरण अगाडि बढाएको छैन, इजरायलले सेना फिर्ता सुरु गरेर जवाफ दिएको छैन र एनसीएजी क्षेत्रभित्र सञ्चालनमा छैन।

युद्धविरामका सर्तअनुसार इजरायली सेनालाई गाजाको ५३ प्रतिशत भागमा रहन अनुमति दिइएको थियो तर आधिकारिक विवरणअनुसार एक वर्षपछि उनीहरूले लगभग ७० प्रतिशत नियन्त्रण गरेका छन् ।

हालका सर्वेक्षणअनुसार न त नेतान्याहुको गुट न त आइसेनकोट नेतृत्वको गुटले १२० सिट भएको संसदमा सरकार गठन गर्न आवश्यक ६१ सिट जित्ने अवस्थामा छ ।