विदेशी मुद्रा सञ्चिति २६ अर्ब ४८ करोड डलर, १७ महिनाको आयात धान्ने


काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति १.८७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । खाद्य समूहअन्तर्गत घ्यू तथा तेल, फलफूल, चिनी तथा चिनीजन्य पदार्थ, माछा तथा मासु र तरकारीको मूल्यमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर ४०६ खर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । उक्त सञ्चितिले १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । भदौ महिनामा मात्रै २२१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्षको भदौमा यस्तो रकम १७४ अर्ब ६७ करोड रुपैयाँ थियो ।

वैदेशिक व्यापारतर्फ समीक्षा अवधिमा वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, आयात ३१.६ प्रतिशतले वृद्धि भई ४०१ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । आयातको तुलनामा निर्यात कम हुँदा व्यापार घाटा २६ प्रतिशतले बढेर ३२४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो । यस्तै, शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ ।

सरकारी वित्ततर्फ चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल सरकारको कुल खर्च १९९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यस अवधिमा सरकारको राजस्व परिचालन १८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ०.९ प्रतिशतले वृद्धि भई ८ हजार ३४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेर ५ हजार ९५० अर्ब ५८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

ब्याजदर भने अघिल्लो वर्षको तुलनामा घटेको छ । भदौ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत कायम भएको छ ।

यसैगरी, समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धि १४.९ प्रतिशत रहेको छ । उता, भदौ मसान्तमा नेप्से सूचकाङ्क २६१२.४३ कायम भएको छ भने धितोपत्र बजारको कुल पुँजीकरण ४४ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
प्रतिवेदनले विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्रको बचतमा सुधार देखाए पनि मुद्रास्फीति, आयात र व्यापार घाटामा भएको वृद्धिलाई अर्थतन्त्रका महत्त्वपूर्ण सूचकका रूपमा देखाएको छ ।