ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले हरायो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमानले ४० ओभरमा १५० रन बनाउँदा सबै विकेट गुमायो ।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए । ४१ रन बनाउँदा ६ विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरे । 

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो ।  नेपालका रोहित पौडेलले ६१, करण केसीले १६ बलमा ४० रन बनाए ।

यस्तै अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे । ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावालेले समान २÷२ विकेट लिए । योसँगै नेपाल लिग–२ मा ३४ खेलबाट २८ अङ्कसहित छैटौँ स्थानमा छ  ।