काठमाडौँ । नवौँ विश्व संस्कृत दिवसको सन्दर्भमा जरो किलो प्रतिष्ठान नेपालले संस्कृत भाषा, व्याकरण, वेदान्त र साहित्यका क्षेत्रमा दीर्घकालदेखि साधनारत वरिष्ठ विद्वान् तथा श्रीनिम्बार्क सम्प्रदायका आचार्य प्राध्यापक हरिशरण उपाध्यायलाई सम्मान गरेको छ । उपाध्याय ९६ वर्षको उमेरमा पनि धर्म, संस्कृति तथा संस्कृतको सेवामा सक्रिय छन् ।
वाल्मीकि संस्कृत क्याम्पसमा आयोजित गरिमामय कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले प्रा. डा. उपाध्यायलाई सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा जरो किलो प्रतिष्ठानका अध्यक्ष प्रा. डा. निर्मलमणि अधिकारी, कार्यक्रम संयोजक प्रा. डा. माधवप्रसाद पाण्डेय, नेपाल प्राध्यापक सङ्घ संस्कृत विश्वविद्यालय समितिका सभापति प्रा.डा.मुकुन्दप्रसाद लामिछाने, प्रा. डा.गोविन्दशरण उपाध्यायलगायत विद्वान्हरूको उपस्थिति रहेको थियो ।
संस्कृत केवल एउटा प्राचीन भाषा होइनः यो हाम्रो दर्शन, अध्यात्म, साहित्य, विज्ञान, संस्कृति र सभ्यताको विशाल ज्ञानकोषसम्म पुग्ने मूल ढोका हो । संस्कृतको संरक्षण र संवर्धन भनेको विगतको स्मृतिलाई मात्र जोगाउनु होइन, हजारौँ वर्षदेखि सञ्चित ज्ञानपरम्परालाई नयाँ पुस्तासँग जोड्नु पनि हो । यस्तो महान् ज्ञानपरम्पराको अध्ययन, अध्यापन र विस्तारमा जीवन समर्पित गर्ने विद्वान्को सम्मान हुनु सम्पूर्ण संस्कृतप्रेमीका लागि गौरवको विषय हो ।
प्रा. हरिशरण उपाध्यायले संस्कृत व्याकरण, वेदान्त र साहित्यका क्षेत्रमा पुर्याएको दीर्घ योगदानका साथै वैदिक–वैष्णव दर्शन र श्रीनिम्बार्क सम्प्रदायको ज्ञानपरम्परालाई जीवित राख्न गरेको साधना विशेष स्मरणीय छ । उनीजस्ता आचार्यहरूको ज्ञान, तपस्या र शिक्षणबाट नै शास्त्रीय परम्परा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ ।
नवौँ विश्व संस्कृत दिवसकै अवसरमा प्रदान गरिनुपर्ने यो सम्मान प्राकृतिक विपद्का कारण त्यस समयमा स्थगित भएको र आज घटस्थापनाका अवसरमा प्रदान गरिएको हो । जरो किलो प्रतिष्ठानले वि।सं। २०७५ देखि विश्व संस्कृत दिवसको अभियान सञ्चालन गर्दै संस्कृत भाषा र ज्ञानपरम्पराको प्रवर्धनमा योगदान पुर्याउने विद्वान्हरूलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया