सभापतिका प्रत्यासी श्यामकृष्ण खड्गीले भने-मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी श्यामकृष्ण खड्गीले सभापतिमा निर्वाचित गगनकुमार थापालाई सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन्।

सभापति पदमा थापासँगको प्रतिस्पर्धामा पराजित भएपछि खड्गीले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले निर्वाचनमा सहभागी भई लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउन भूमिका खेलेका महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

खड्गीले आफूलाई प्राप्त माया, विश्वास र समर्थनलाई अमूल्य राजनीतिक सम्पत्तिका रूपमा लिएको उल्लेख गर्दै निर्वाचनको परिणाम जस्तो भए पनि साथीहरूसँगको आत्मीय सम्बन्ध, विश्वास र सहकार्यलाई सधैँ सम्मान गर्ने बताएका छन्।

उनले विशेष र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी तथा विभाजनको भावनालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। छुट्टै महाधिवेशनको बाटोमा रहेका नेताकार्यकर्तालाई समेत संवाद, सहमति र सम्मानका माध्यमबाट पार्टी एकताको मूलधारमा समेट्नु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ।

‘अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ,’ थापालाई सम्बोधन गर्दै खड्गीले भनेका छन्, ‘तपाईंलाई मत दिने र नदिने तथा फरक विचार र धारमा रहेका सबै साथीलाई समेटेर अघि बढ्नुहोस्। कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस् र सबैले पार्टीभित्र आफ्नो सम्मान तथा अपनत्व पाएको अनुभूति गर्न सकून्।’

नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र नभई फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि रहेको खड्गीले बताएका छन्। प्रतिस्पर्धा पदका लागि भए पनि त्यसले आपसी सम्बन्ध तोड्न नहुने उनको धारणा छ।

गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सके नेपाली कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिने उनले विश्वास व्यक्त गरेका छन्।

व्यक्तिगत हारजितभन्दा पार्टीको एकता, पदभन्दा सम्बन्ध र स्वार्थभन्दा विचार ठूलो रहेको उल्लेख गर्दै खड्गीले सबैलाई नेपाली कांग्रेसको उज्ज्वल भविष्यका लागि मिलेर अघि बढ्न आह्वान गरेका छन्।