पोखरा । पोखराका युवा वैज्ञानिक डा. निरञ्जन कोइरालासहित ३१ जना नेपाली वैज्ञानिक विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका छन् । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले एल्सेभियरसँगको सहकार्यमा तयार पार्ने उक्त वार्षिक सूचीमा नेपाली वैज्ञानिकहरू समेटिएका हुन् ।
वैज्ञानिक कोइरालाले अन्तर्राष्ट्रिय स्तरमा नेपाली वैज्ञानिकले पाएको मान्यताले नेपालमा विश्वस्तरमा प्रभाव पार्न सक्ने क्षमता भएका वैज्ञानिक रहेको पुष्टि गर्ने बताए । उनले यस्तो उपलब्धिले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीप्रतिको दृष्टिकोण सुधार्नसमेत मद्दत पुग्ने धारणा राखे ।
कोइरालाका अनुसार नेपाललाई नवीन वस्तुहरूको प्रमुख निर्यातकर्ता मुलुकको सूचीमा पुर्याउन नेपाली वैज्ञानिकलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकार र निजी क्षेत्रले थप प्रयास गर्नुपर्छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयले एल्सेभियरसँगको सहकार्यमा तयार पार्ने सूचीमा विश्वभरका अनुसन्धानकर्ताको वैज्ञानिक योगदान र अनुसन्धानको प्रभावका आधारमा मूल्यांकन गरिन्छ । यसका लागि स्कोपस डाटाबेसबाट प्राप्त मानकीकृत उद्धरण सूचकांक, वैज्ञानिक प्रकाशनको संख्या र एक वर्षको अनुसन्धान प्रभावलाई आधार बनाइन्छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमध्ये भारतका सबैभन्दा बढी ६ हजार ९५३ वैज्ञानिक सूचीमा समेटिएका छन् । पाकिस्तानका १ हजार ३४, बंगलादेशका ३४७ र श्रीलंकाका ६८ वैज्ञानिक पनि सूचीमा परेका छन् । त्यसैगरी अफगानिस्तानका २ तथा भुटान र माल्दिभ्सका १–१ जना वैज्ञानिक सूचीमा समावेश छन् । नेपालका ३१ जना वैज्ञानिकको उपस्थिति पनि यही क्षेत्रीय सन्दर्भमा उल्लेखनीय रहेको छ ।
विश्वव्यापी रूपमा भने संयुक्त राज्य अमेरिका ७३ हजार ६३८ वैज्ञानिकसहित सूचीको शीर्ष स्थानमा छ । चीनका ३७ हजार २०३ वैज्ञानिक सूचीमा परेका छन् । चीन दोस्रो स्थानमा छ । अन्तर्राष्ट्रिय वैज्ञानिक सूचीमा नेपाली अनुसन्धानकर्ताको उपस्थिति बढाउन अनुसन्धानका लागि आर्थिक स्रोत, संस्थागत सहयोग र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने विषय पनि कोइरालाले उठाएका छन् । वैज्ञानिकलाई सम्मान र अनुदानमार्फत प्रोत्साहन गर्दा अनुसन्धानलाई निरन्तरता दिन तथा नेपालमै नयाँ प्रविधि र वस्तुको विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया