दमौली (तनहुँ) । अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका जोड्ने पुलको पहुँच सडक बिग्रिएपछि रोकिएको सवारी आवागमन पुनः सञ्चालन गर्ने तयारी गरिएको हो।
गत असोज ११ गतेको बाढीले पुलको तनहुँतर्फको पहुँच सडकमा क्षति पुर्याएको थियो। त्यसयता पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने र नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने यात्रु तथा व्यवसायी प्रभावित हुँदै आएका छन्।
बाढीले क्षति पुर्याएको नवलपुरतर्फको पहुँच सडक भने पुनर्निर्माण भइसकेको छ। तनहुँतर्फको सडक निर्माणका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन कार्यालय दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिए। पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु र व्यवसायीसमेत प्रत्यक्ष प्रभावित भएको उनले बताए।
थापाले पहुँच सडक निर्माण छिटो सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताए।
यस्तै, बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाका अनुसार नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माण यसअघि नै सम्पन्न भइसकेको छ। उक्त सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए।

प्रतिक्रिया