रोडसो सेक्युरिटीजद्वारा जनप्रिय क्याम्पसमा पुँजी बजार साक्षरता तथा लगानीकर्ता अभिवृद्धि कार्यक्रम आयोजना


पोखरा । विश्व लगानीकर्ता सप्ताहको अवसरमा रोडसो सेक्युरिटीज लिमिटेड (स्टक ब्रोकर नं. ९२), पोखरा शाखाले जनप्रिय बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘पुँजी बजार साक्षरता एवं लगानीकर्ता अभिवृद्धि कार्यक्रम’ आयोजना गरेको छ ।

नेपाल धितोपत्र बोर्ड, नेपाल धितोपत्र नियमन निकायहरूको अन्तर्राष्ट्रिय संगठन (International Organization of Securities Commissions (IOSCO) सँग आबद्ध रहेको सन्दर्भमा IOSCO को आह्वानमा प्रत्येक वर्ष विश्वभर सञ्चालन हुँदै आएको विश्व लगानीकर्ता सप्ताह अन्तर्गत नेपालमा पनि अश्विन १९ देखि २५ गतेसम्म लगानी सप्ताह मनाइरहेको छ। यसमा लगानीकर्ता शिक्षा, वित्तीय साक्षरता तथा वित्तीय सचेतनामूलक विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। सोही अभियानअन्तर्गत रोडसो सेक्युरिटिज लिमिटेडले असोज २० गते आयोजित कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको चौथो वर्षमा अध्ययनरत ५५ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नवीनराज खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए कार्यक्रमको अध्यक्षता रोडसो सेक्युरिटीज लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा उक्त क्याम्पसका प्राध्यापक टंकराज बराल अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रममा संस्थाका कर्मचारी क्षितिजा विश्वकर्मा, निर्मल रानाभाट र योगेश उपाध्यको पनि उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण रोडशो सेक्युरिटीज लिमिटेड, पोखरा शाखाका शाखा प्रबन्धक विवेक पराजुलीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नवीनराज खनालले विद्यार्थीहरूलाई वित्तीय स्रोतको महत्व, पुँजी बजारका सम्भावना तथा लगानी गर्दा आवश्यक पर्ने ज्ञान, अनुसन्धान र विवेकपूर्ण निर्णय क्षमताबारे जानकारी गराउँदै कार्यक्रम अर्थपूर्ण र उपयोगी रहेको बताए ।
उनले विद्यार्थी जीवनदेखि नै वित्तीय ज्ञान तथा लगानीसम्बन्धी व्यावहारिक बुझाइ विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक पक्षसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा ‘पैसाको मूल्य बुझेको मानिसले विवेकपूर्ण लगानी तथा Rational Decision गर्न सक्छ’ भन्ने अवधारणालाई विशेष जोड दिइएको थियो । पुँजी बजारमा लगानी गर्नुअघि बजारको अध्ययन, उपलब्ध अवसरको अनुसन्धान तथा पर्याप्त ज्ञान हासिल गर्नुपर्ने विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको थियो।

कार्यक्रमका अध्यक्ष तथा रोडसो सेक्युरिटीज लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद सापकोटाले पुँजी बजारलाई केवल तत्काल नाफा कमाउने माध्यमका रूपमा बुझ्न नहुने बताए । उनले पुँजी बजार “पैसा छाप्ने मेसिन” नभई ज्ञान, अनुसन्धान, जोखिम व्यवस्थापन, अनुशासन र विवेकपूर्ण निर्णयमा आधारित वित्तीय बजारको संयन्त्र भएको उल्लेख गरे ।

लगानीमा प्रतिफल प्राप्त गर्ने सम्भावनासँगै जोखिम पनि रहने भएकाले हल्ला, सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना, भावनात्मक निर्णय वा तत्कालीन लाभको अपेक्षाभन्दा तथ्य, अध्ययन, अनुसन्धान र आफ्नो जोखिम वहन क्षमताका आधारमा लगानीसम्बन्धी निर्णय गर्नुपर्ने उनले बताए ।

उनले विद्यार्थीहरूलाई पुँजी बजारलाई अवसरका रूपमा हेर्दा पनि त्यसको प्रकृति, जोखिम र सम्भावित प्रतिफललाई बुझेर मात्र अघि बढ्न आग्रह गरे । ज्ञान र अनुशासनबिनाको लगानीभन्दा अध्ययन र अभ्यासमा आधारित निर्णय नै दीर्घकालीन रूपमा प्रभावकारी हुने उनको भनाइ थियो।

कार्यक्रमका रोडसो सेक्युरिटीज लिमिटेड, पोखरा शाखाका शाखा प्रबन्धक विवेक पराजुलीले पुँजी बजारसम्बन्धी ज्ञान तथा व्यावहारिक अनुभव हासिल गर्न आफ्नै वास्तविक पैसा गुमाएर मात्र सिक्नुपर्छ भन्ने आवश्यक नरहेको विषयमा विद्यार्थीहरूलाई जानकारी गराए ।
उनले सीमित स्रोतसाधनको विवेकपूर्ण उपयोग गर्दै बजारको अध्ययन, अभ्यास, कारोबारको अभिलेखीकरण तथा जोखिमरहित अभ्यासमार्फत पनि लगानीसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न सकिने बताए ।

यसले विद्यार्थी तथा नयाँ लगानीकर्तालाई वास्तविक पूँजी प्रयोग गर्नुअघि आफ्नो निर्णय क्षमता, लगानी रणनीति तथा अनुशासन परीक्षण गर्ने अवसर प्रदान गर्ने उनले उल्लेख गरे ।

व्यवस्थापन विषय अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि व्यवस्थापन, वित्त, जोखिम तथा निर्णय प्रक्रियासम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक वित्तीय निर्णयमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।

विद्यार्थीहरूलाई पुँजी बजारलाई केवल शेयर खरिद–बिक्रीको माध्यमका रूपमा मात्र नभई ज्ञान, अनुसन्धान, जोखिम व्यवस्थापन, अनुशासन र विवेकपूर्ण निर्णय आवश्यक पर्ने वित्तीय बजारको संयन्त्रका रूपमा बुझ्न प्रेरित गरिएको थियो।
पुँजी बजारमा अवसर भए पनि त्यसलाई निश्चित प्रतिफल वा तत्काल आम्दानीको माध्यमका रूपमा लिन नहुने र अवसरसँगै जोखिमको मूल्याङ्कन गर्नु नै जिम्मेवार लगानीको आधार भएको विषयमा समेत जोड दिइएको थियो।

कार्यक्रमले विद्यार्थीहरूमा पुँजी बजार, लगानी प्रक्रिया, जोखिम व्यवस्थापन तथा वित्तीय अनुशासनसम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकको विश्वास रहेको छ। रोडसो सेक्युरिटीज लिमिटेड (स्टक ब्रोकर नं. ९२) को प्रधान कार्यालय बागदरबार, काठमाडौंमा रहेको छ भने पोखरा शाखा न्युरोड–०९, पोखरा, अर्बिन्द कम्प्लेक्समा सञ्चालनमा रहेको छ।