इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका


वासिङटन। अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाही गर्न तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

रिपोर्टअनुसार अमेरिका र इजरायलले सम्भावित हमला नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि गर्न सक्ने सम्भावना छ। इजरायलमा हुने निर्वाचनअघि पनि हमला हुन सक्ने बताइएको छ। सम्भावित सैन्य कारबाहीमा इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो हवाई हमला गर्न सकिने अधिकारीहरूले बताएका छन्।

अमेरिकामा निर्वाचन नजिकिँदै गर्दा दैनिक जीवनयापनको बढ्दो खर्च मतदाताका लागि मुख्य चिन्ताको विषय बनेको छ। इरानसँगको युद्धका कारण पेट्रोलको मूल्य बढेको र त्यसको असर ढुवानी, यातायात, हवाई सेवा तथा खाद्यान्नको मूल्यमा परेको बताइएको छ।

सोमबार सार्वजनिक गरिएको रोयटर्स–इप्सोस सर्वेक्षणअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन ३२ प्रतिशतमा रहेको छ। सेप्टेम्बरको सर्वेक्षणमा पनि उनको समर्थन ३२ प्रतिशत नै थियो।

सर्वेक्षणले अमेरिकी नागरिकका लागि आगामी निर्वाचनमा मतदान गर्दा दैनिक जीवनयापनको खर्च सबैभन्दा ठूलो मुद्दा बनेको देखाएको छ। इरानमा सम्भावित अमेरिकी हमलाबारे अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक भएको छैन। सम्भावित कारबाहीको समय र स्वरूपबारे प्राप्त विवरण अमेरिकी अधिकारीहरू र सञ्चारमाध्यमका रिपोर्टमा आधारित छन्।