काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि मुलुकमा केही पनि परिवर्तन नभएको भन्ने धारणा तथ्यमा आधारित नभएको बताएका छन् ।
काभ्रे जिल्ला एकता बैठकलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र स्थापनापछि भएका राजनीतिक, सामाजिक तथा विकासका उपलब्धिको तथ्यपरक समीक्षा गर्नुपर्ने बताएका हुन् ।
प्रचण्डले राजनीतिक परिवर्तनका क्रममा आफ्नो पार्टीले खेलेको भूमिकालाई पनि इतिहासबाट मेटाउन नसकिने दाबी गरे ।
‘गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन,’ उनले भने, ‘हामीले गरेका काम र भएका उपलब्धिको तथ्यका आधारमा मूल्याङ्कन गर्नुपर्छ ।’
उनले आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामको समेत वस्तुनिष्ठ मूल्याङ्कन आवश्यक रहेको बताए । शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्रलाई कार्यान्वयनमा लैजाने र संविधान निर्माणको आधार तयार पार्ने काम आफ्नो पहिलो कार्यकालका प्रमुख उपलब्धि भएको उनको दाबी थियो ।
पछिल्लो समय मुलुक असाधारण संकटतर्फ धकेल्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले भने ‘गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन । अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेका छन् । यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था छ ।’
उनले कम्युनिस्ट शक्तिबीच एकता र गणतन्त्र तथा संविधानका पक्षधर शक्तिबीच सहकार्यलाई अहिलेको आवश्यकता भएको बताए । ‘इतिहासका अनुभवबाट शिक्षा लिँदै सत्य के हो भन्ने कुरा जनतालाई स्पष्ट रूपमा बुझाउनु आजको आवश्यकता हो,’ प्रचण्डले भने ।
राष्ट्रिय हित र विकासका लागि छिमेकी तथा मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्दै अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए ।
प्रचण्डले अबको राजनीतिक बहस जनताको दैनिक जीवनसँग जोडिनुपर्ने बताए । महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुमबासी, मजदुर र आधारभूत वर्गका समस्यालाई प्राथमिकतामा राखेर जनताका मुद्दा उठाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया