पोखरा । न्युजिल्यान्डको ग्रान्ट बुश रिजर्भमा नेपाली कला, संस्कृति र परम्पराको झल्को दिने ‘नेपाली चौतारी’ निर्माण हुने भएको छ। नेपाली समुदायको पहलमा अघि बढाइएको यो परियोजनालाई बहुसांस्कृतिक समाजमा नेपाली पहिचानसँगै आपसी सम्बन्ध विस्तार गर्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
डा. रमिल अधिकारीको नेतृत्वमा अघि बढेको अवधारणाअनुसार चौतारी नेपाली समुदायका लागि मात्र नभई न्युजिल्यान्डमा रहेका विभिन्न समुदायको साझा भेटघाटस्थल हुनेछ। यहाँ किवी, माओरीलगायत विभिन्न सांस्कृतिक तथा जातीय समुदायका मानिसहरू भेला भएर संवाद, भेटघाट र अनुभव आदानप्रदान गर्न सक्ने परिकल्पना गरिएको छ।
नेपाली समाजमा चौतारी यात्राको थकाइ बिसाउने, छहारीमा आराम गर्ने तथा आपसमा भेटघाट र कुराकानी गर्ने परम्परागत स्थलका रूपमा परिचित छ। यही सांस्कृतिक अर्थलाई न्युजिल्यान्डको बहुसांस्कृतिक तथा द्विसांस्कृतिक परिवेशसँग जोडेर नयाँ चौतारी निर्माण गर्न लागिएको हो।
नेपाली वास्तुकला र सांस्कृतिक शैलीलाई प्राथमिकता दिइने चौतारीका लागि अपर हट सिटी काउन्सिलले स्थान उपलब्ध गराएको छ। लामो समयदेखि गरिएको पहलपछि परियोजना कार्यान्वयनको चरणमा पुगेको डा. अधिकारीले बताएका छन्।
उनका अनुसार चौतारी निर्माणको सुरुवात र पहल आफूले गरे पनि यसको वास्तविक स्वामित्व र संरक्षण भने समुदायको साझा जिम्मेवारी हुनेछ। उनले निर्माणदेखि संरक्षणसम्म सबै समुदायलाई सहकार्य र हातेमालो गर्न आग्रह गरेका छन्।
आयोजनाले नेपाली संस्कृति र परम्परालाई न्युजिल्यान्डको विविध सामाजिक परिवेशसँग जोड्दै चौतारीलाई बस्ने, बिसाउने, जोडिने र संवाद गर्ने साझा थलोका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया